गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।
दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएको छ । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनिहरुले व्यावसायिक कृषि शुरु गरेको हो । परिवारमा एक अर्काको साथ र सहयोगले सफलता हाँसिल गरेको उनिहरूको भनाइ छ ।
ढकाल परिवारले २०४० सालदेखि गर्दै आएको परम्परागत सुन्तला खेतीसँगै २०७४ सालदेखि कृषि फार्ममार्फत दर्ता गरी सुन्तला खेतीका अतिरिक्त कालिजपालन, अदुवा र अकबरे खुर्सानी खेती गर्दै आएका छन् । उनिहरूले आफू बाहेक अन्य तीन जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
उनिहरूको सुन्तलाखेती हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । सुन्तला खेतीबाटै वार्षिक पाँच/छ लाख रुपैयाँसम्म आम्दानी हुने दिनेशले बताए । उनको फार्ममा साना ठूला गरी एक हजार बोट रहेकामा करिब दुई सय ५० बोटमा सुन्तला फलेका छन् । राम्रो फल्ने एउटै बोटमा वीस क्रेटसम्म फल्ने गरेको छ ।
ढकाल परिवारले सात वर्ष अघि शुरु गरेको व्यावसायिक कालिजपालन पनि फस्टाउँदै गएको छ । फार्ममा हाल १३ हजारको सङ्ख्यामा कालिज छन् । तीन वर्षअघि जापान जाने सोचमा रहेकामा कालिज फस्टाउँदै गएपछि विदेश जाने मोह त्यागेको दिनेशले बताए ।
प्रति कालिज भाले दुई हजार पाच सय र पोथी एक हजार पाच सय रुपैयाँमा बिक्री हुनेगरेको छ । शुरुमा २०७६ सालमा एक सयको सङ्ख्याबाट उनले कालिजपालन शुरु गरेका थिए ।
“व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ, स्वदेशभित्र मात्र नभइ चीन, दुबइजस्ता देशमा कालिजको माग धेरै छ”, उनले भने, “कालिजपालनमा राज्यले प्रोत्साहन गर्ने हो भने यही व्यवसायबाट मैले एक सय ५० जनासम्मलाई रोजगारी दिन सक्छु ।”
तीन वर्षयता सुन्तला बगानभित्र अकबरे खुर्सानी तथा अदुवा खेती पनि गर्दै आएको छ । अकबरे खुर्सानी वार्षिक छ/सात क्वीन्टलसम्म उत्पादन हुने गरेको जानकारी दिँदै ढकालले प्रतिकेजी होलसेलमा दुई सय ५० रुपैयाँदेखि खुद्रा चार सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । उनिहरूले अकबरे खुर्सानीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ ।
सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी, अदुवासहित कूल २८ रोपनी क्षेत्रफलमा फार्म फैलिएको छ ।
व्यावसायिक कृषिमा राज्यको भने साथ र सहयोग आवश्यक हुने बताउँदै ढकालले आफूहरूले लामो समयदेखि फार्म सञ्चालन गरे पनि राज्यका तर्फबाट हालसम्म प्राविधिक सहयोग पाउन नसकेको दुःखेसो गरे ।
“प्राविधिक सहयोगका लागि आग्रह गर्दै फर्ममा आइदिनका लागि पटक-पटक फोन गरे पनि सम्बन्धित निकायले चासो नदिएको मेरो अनुभव छ”, उनले भने, “केही गर्छु भन्नेलाई राज्यका तर्फबाट प्रोत्साहन नभएमा युवाहरूलाई आकर्षित गर्न सकिन्छ ।”

