२०८३, कार्तिक १२ गते बिहीबार

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी


  • मेरोभ्यूज
  • फाल्गुण २८, २०८२ बिहीबार

  • विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी

     

    पर्वत । आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु. तीन करोड कारोबार गर्दै आएको छ ।

    पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु. तीन करोड आम्दानी गर्दै आएको हो ।

    एक्काइस वर्ष लामो प्रहरी सेवा र वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेको हो ।

    मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा रु. तीन करोडको लगानीमा सञ्चालित फार्मबाट वार्षिकरूपमा रु. तीन करोडको कारोबार हुने गरेको उनले जानकारी दिए ।

    फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु. तीन करोड आम्दानी हुने उनको भनाइ छ ।

    “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ । तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उनले भने । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश भएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बनेको थियो ।

    जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ ।

    चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रा.लि. चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो ।

    पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।

    फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताए । उनका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उनले जानकारी दिए ।

    वि.सं. २०७१ देखि शुरु भएको उक्त फार्म शुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए ।

    केही वर्षअघि आएको बाढीले फार्म पूर्णरूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिएको छ ।

    सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु. एक करोडभन्दा बढी बचत हुने गरेको जानकारी दिए । हाल रेम्बो ट्राउट प्रतिकिलो रु. एक हजारमा बिक्री हुने गरेको छ ।


    प्रकाशित : बिहीबार , फाल्गुण २८ २०८२०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार