२०८३, कार्तिक १५ गते आइतबार

पर्यटकको रोजाइमा वेतना सिमसार

पर्यटकको रोजाइमा वेतना सिमसार


  • मेरोभ्यूज
  • चैत्र २३, २०८२ सोमबार

  • पर्यटकको रोजाइमा वेतना सिमसार

     

    मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

    हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्षरूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुले लोभ्याउने गरेको छ ।

    सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ ।

    दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए ।

    यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुवा भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।

    राजमार्गसँगै जोडिएकाले जाडोयाममा वनभोज खान आउनेको दैनिक घुइँचो नै हुने गरेको समितिका सह-सचिव राजन प्रसाईँ बताउछन् ।

    उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

    पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु. २० लाखको लागतमा पानीको फोहोरा पनि निर्माण शुरु गरिएको जानकारी दिए ।

    करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् ।

    साथै अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेलापरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

    यहाँ पाइने वनस्पति, पशुपछीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ ।

    उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् ।

    बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जानकारी दिए ।

    पछिल्लो समय यस सिमसार क्षेत्रमा विभिन्न जीवविज्ञहरू जीव अनुसन्धानका क्रममा समेत यहाँ आउने गरेको अध्यक्ष भट्टराई बताउँछन् ।

    “यहाँका जीवजन्तुको संरक्षण हाम्रो मुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ”, उनले भने ।


    प्रकाशित : सोमबार, चैत्र २३ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार