२०८३, कार्तिक १५ गते आइतबार

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन


  • मेरोभ्यूज
  • चैत्र २७, २०८२ शुक्रबार

  • बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

     

    बागलुङ । यस वर्ष बागलुङमा रु. २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ ।

    सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु. ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।

    कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु. २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो ।

    पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तलाखेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए ।

    बसाइँसराइले रित्तिदै गएका गाउँमा समेत राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।

    पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तलाखेती गर्न थालिएको प्रमुख पुन मगरले सुनाए ।

    कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरू सुन्तलाखेतीप्रति आकर्षित उनी बताउँछन् ।

    यस वर्ष चार हजार एक सय ६९ मेट्रिक टन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए । किसानले न्यूनतम प्रतिकिलो रु. ६५ ले बिक्री गरेको उनको भनाइ छ ।

    उनले भने, “पछिल्लो समय सुन्तलाखेतीप्रति धेरै किसान आकर्षित भएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तलाखेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।”

    वि.सं. २०७६ मा पाच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर छ सय ६४ हेक्टर पुगेको छ । अहिले तीन सय ८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।

    काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु. छ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा रु. आठ लाखमा बगाननै व्यापारीलाई दिएको जानकारी दिए ।

    सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ ।

    अघिल्लो वर्ष औसा किराले झण्डै एक लाखको सुन्तला नष्ट गरी दिएको कँडेल बताउँछन् ।

    सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष रु. १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको सुनाए ।

    फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, चैत्र २७ २०८२१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार