गण्डकी । शहर नै रोजगारी र समृद्धिको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएको छ ।
कास्कीको मादी गाउँपालिका–११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यावसायमार्फत प्रति वर्ष रु. ६० लाखभन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गरेको हो ।
समुद्री सतहदेखि एक हजार पाच सय मिटरको उचाइमा अवस्थित विकट तोगी गाउँमा रहेर आकर्षक कमाइसहित उदाहरणीय किसान बन्दै सकारात्मक सन्देश दिन किसान लामिछाने सफल भएको छ ।
तोगी गाउँ पुग्न आज पनि सहज छैन, भौगोलिक विकटता सीमित पूर्वाधार र बजारको पहुँचको अभावको बाबजुद पनि लामिछानेले गाउँमै सम्भावना देखेको छ ।
परम्परागत कृषिमा सीमित नरही गाउँमै मौरीपालनलाई व्यावसायिकरुप दिन थालेपछि उनको जीवनशैली मात्र फेरिनुका साथ गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि बलियो बनेको छ ।
उनका अनुसार २०४८ सालमा ‘तालबेँसी देखि किसान’सम्म संस्थामा दश वर्षको अनुभवबाट गाउँमै रहेर मौरीघार निर्माण र मह उत्पादनको मुख्य प्रेरणाको स्रोत बनेको हो । घर वरिपरिको बारीमा अहिले पनि एक सय भन्दा बढी आधुनिक घारमा मौरी घुमिरहेका देखिन्छन् ।
गाउँमा कमाएको रकमले पोखरा-१७ सीतापाइलामा घरजग्गाको व्यवस्था गर्नुका साथै चार छोराछोरीलाई बजारमा राखेर पढाउन सफल भएको उनकी श्रीमती लक्ष्मी लामिछानेले बताइन् ।
“चार फ्रेम मौरीसहितको आधुनिक घारलाई रु. १५ हजार, खाली घारलाई रु. पाँच हजार पाच सय र प्रति के.जी. मह रु. एक हजार पाच सयमा बिक्री गर्दै आएको छु” किसान लामिछानेले भने, “उत्पादित मौरीका घार र मह बिक्री हुँदैन कि भन्नुपर्दैन, बजारको माग धान्नसमेत हम्यहम्ये परेको छ ।”
अघिल्लो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई मात्र करिब रु. ३८ लाख मूल्य बराबरको मौरीसहितको घार र मह बिक्री गरेको बताउँदै उनले थपे स्थानीय वनस्पति, जैविक वातावरण र स्वच्छ हावापानीका कारण यस क्षेत्रमा उत्पादित मह गुणस्तरीय अर्गानिक भएको हुँदा बजारमा सहजै बिक्री हुनेगरेको छ । उनको घारमा ‘सेरेना’ जातका मौरी रहेका छन् ।
मौरीपालनले उनलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको छ । यसले वैदेशिक रोजगारीका लागि पलायन हुने युवालाई गाउँमै रोक्न सकिने प्रचुर सम्भावनाको सङ्केत गरेको छ ।
मौरीपालन तथा घार उद्योगमा एकजना स्थानीय र अर्को एक जना विदेशी नागरिकलाई दैनिक रोजगारी दिन उनी सफल भएको छ ।
मौरी फर्ममा उत्पादन भएको मह पोखराको बजार र घार भने कास्की, गोरखा, स्याङजा र म्याग्दी जिल्लामा बढी माग रहेको छ ।
मौरीले बढी मन पराउने ‘टुनी’को काठबाट घार निर्माण गर्दै आएको र काठ भने बागलुङ र पर्वत जिल्लाबाट खरिद गरेर ल्याउने गरेको लामिछाने बताउँछन् ।
सो गाउँभन्दामाथि कुनै पनि बस्ती नरहेको उक्त उद्योगमा भारतका सेख अवतार विगत दस वर्षदेखि काम गर्दै आएका छन् । उनलाई खान बस्न सुविधासहित मासिक रु. ४५ हजार पारिश्रमिक दिने गरेको लामिछाने बताउँछन् । स्थानीय एकजनाले भने मासिक रु. ३५ हजार तलब पाउने गरेका छन् ।
किसान लामिछानेको सफलताले तोगी मात्र होइन सम्पूर्ण पहाडी गाउँको लागि सम्भावनाको ढोका खोलेको छ ।
भौगोलिक अवस्था, सही योजना, निरन्तरता मेहनत र स्थानीय स्रोतको सदुपयोग गर्न सके गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने भनाइ पुष्ट गर्न उनी सफल भएको छ ।
लामिछाने मात्र नभइ सो गाउँका अर्का विनोद ढकालले पनि मह र घार बिक्रीबाट मनग्ये आम्दानी गर्दै आएको छ । पाँच घार मौरी भएका उनले घार र मह बिक्रीबाट वार्षिक रु. दस लाखभन्दा बढी आम्दानी गर्दै आएको छ । उनको परम्परागत खरले छाएको घुमाउने घर छ, जहा मौरीका घारले ढाकेको छ ।
उक्त क्षेत्रका घरमा मात्र होइन जङ्गलका धोत्रारुखमा समेत मौरी घार रहेका हुन्छन् । गाउँलेहरुले त्यस्ता जङ्गलका मौरीलाई आधुनिक घारमा राखेर विस्तार गर्दै आएका छन् ।
वार्षिक रु. एक लाख पचास हजार मुल्य बराबरका १० देखि १५ घार जङ्गलबाट छोपेर ल्याउने गरेको मौरी किसान विनोद बताउँछन् ।
तोगी गाउँका प्रत्येक घरमा धेरै–थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट रु दुई करोडभन्दा बढी रकम बजारबाट गाउँ भित्रिने गरेको वडाध्यक्ष चलचित्र गुरुङले जानकारी दिए ।
मादी गाउँपालिकालाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ पालिकाले प्रत्येक वर्ष तोगीका किसानसँग खरिद गरेर अन्य वडाका किसानालाई वितरण गर्ने अभियान समेत सञ्चालन गर्दै आएको छ ।
कास्कीका मौरिपालक किसान मुलुकका घर–गाउँका बस्ती खाली हुनेक्रम बढिरहेको विद्यमान समयमा स्थानीय भूगोल तथा मौसम सुहाउँदो कृषि व्यवसाय सञ्चालन गरी गाउँमै आय-आर्जन गर्नसकिने सम्भावना रहको भन्ने सन्देश दिन सफल भएका छन् ।

