काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सो सम्मेलन काठमाडौंमा आइतबार सम्पन्न भएको हो ।
सम्मेलनले नेपालमा स्वास्थ्य अनुसन्धानको प्रभावकारी व्यवस्थापनका लागि पारदर्शी र जवाफदेही व्यापक स्वास्थ्य अनुसन्धान सुशासन प्रणालीलाई सुदृढीकरण र संस्थागत गर्ने, सम्पूर्ण सरकार र सम्पूर्ण समाजको दृष्टिकोण अपनाउँदै गैर संक्रामक रोगहरूको प्राथमिक रोकथाम र प्रारम्भिक जोखिम न्यूनीकरणमा प्राथमिकतासहित लगानी गर्न वकालत गर्ने, अनुसन्धान सम्बन्धी नियामक संरचनाको आधारमा कृत्रिम बुद्धिमता ठूलो तथ्याङ्क तथा डिजिटल स्वास्थ्य प्रविधिको नैतिक प्रयोग सुनिश्चित गर्दै केन्द्रिकृत र सुरक्षित राष्ट्रिय स्वास्थ्य तथ्याङ्क भण्डारको विकास र दिगोपन सुनिश्चित गर्ने, स्वास्थ्य अनुसन्धान सुशासन प्रणाली तथा यसको कार्यान्वयनमा सामाजिक न्याय अवधारणा तथा जलवायु लचकता दृष्टिकोण प्रवर्द्धन गर्ने तथा प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दिगो वित्तीय व्यवस्था प्रवर्द्धन गर्दै शैक्षिक संस्था र उद्योगबीच साझेदारी सुदृत गर्ने भनि सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनमा १५ वटा भन्दा बढी समसामयिक विषयमा छलफल विचार विमर्श तथा अन्तरक्रिया गरिएको थियो भने ८७ वटा वैज्ञानिक र ३३ वटा नीति सम्बन्धी पत्र प्रस्तुती तथा १२० वटा पोस्टर प्रस्तुती गरिएको थियो ।
एक हजार २०० भन्दा बढी सहभागिता रहेको सम्मेलनमा उत्कृष्ट अनुसन्धानकर्ता उत्कृष्ट पत्र प्रस्तुतकर्ता उत्कृष्ट समाचार प्रस्तुतकर्तालगायतलाई सम्मान गरिएको थियो ।
यसै बीच नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले स्वास्थ्य क्षेत्रको विषयमा प्रकाश पारेका थिए भने स्वास्थ्य अनुसन्धानबाट आएको निष्कर्षलाई कार्यान्वयनमा लैजान जोड दिएका थिए ।
नीति तथा कार्यक्रमहरू प्रभावकारी बनाइनु पर्नेमा जोड दिँदै सरकार जनता तथा सबै पक्षहरूको एक्यबद्धताको जरुरी रहेको समेत डा. देवकोटा र डा. जोशीले जानकारी दिए ।
स्वाथ्यकर्मी, विभिन्न संघ/संस्थाका प्रतिनिधि, समाजसेवीलगायतको सहभागिता रहेको सो सम्मेलन तीन दिनसम्म चलेको थियो भने सम्मेलन भव्यताका साथ सम्पन्न भएको परिषद्ले जनाएको छ ।

