२०८३, कार्तिक १५ गते आइतबार

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

     

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ ।

    पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।

    उद्यानमा धम्पुस ब्रेकन भगिनिसम्बन्ध स्थापनाको स्मारक राखिएको छ ।

    ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।

    धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको रु. २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी रु. ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए ।

    उनले “धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।”

    धम्पुस र बेलायतको ब्रेकन शहरबीचको भगिनीसम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो ।

    धम्पुसबाट उत्तरतर्फ आँखै अगाडि देखिने अन्नपूर्णलगायतका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

    उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ्रे–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले जानकारी दिए ।

    वडाध्यक्ष भण्डारीले भने, “पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने छ ।”

    पोखरादेखि २० कि.मी. दूरीमा धम्पुस गाउँ पुगिन्छ । पोखरा–बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ ।

    धम्पुस विश्व प्रख्यात मर्दी हिमाल पदयात्राको प्रवेशद्धार पनि हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन् ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार