२०८३, कार्तिक १५ गते आइतबार

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

     

    दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो ।

    दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ ।

    यहाँको तोरीको माग काठमाडौं, पोखरा, चितवन, नेपालगन्जलगायत जिल्लामा धेरै रहेको उनले बताए ।

    “पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ”, प्रमुख भण्डारीले भने ।

    सहजरूपमा बिक्री भएमा किसानको आकर्षण बढ्दै जाने उनको भनाइ छ ।

    “उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समस्या नभएकाले पनि किसानको सङ्ख्या तथा क्षेत्रफल बढेको हो”, उनले भने ।

    राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ दाङका तोरी जोनअनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो ।

    आर्थिक वर्ष २०७९/८० मा तोरी जोनअन्तर्गतको क्षेत्रमा एक हजार दुई सय हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार नौ सय ३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्राविधिक सहायक सूर्यज्योति केसीले जानकारी दिए ।

    आ.व. २०८०/८१ मा एक हजार दुई सय हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

    आ.व. २०८१/८२ मा एक हजार दुई सय ४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३.८२ मेट्रिक टन उत्पादन भएको हो ।

    आ.व. २०८२/८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ ।

    प्रतिहेक्टर १.७२ उत्पादकत्व रहेको छ । तोरी जोनले किसानलाई प्राविधिक, बीउ तथा प्रविधिमा सहयोग गर्दै आएको परियोजनाका प्राविधिक सहायक केसीले बताए ।

    तोरी जोन पश्चिम क्षेत्रको दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । तोरीखेती गर्ने किसानले क्षेत्रफलसमेत विस्तार गर्दै गएका छन् ।

    किसानले प्रतिक्विन्टल रु. १४ हजारमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातका तोरीखेती गर्दै आएको केसीले जनाए ।

    किसानलाई तोरी जोनले बीउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ ।

    तोरीखेती छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

    जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार