म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु. चार करोड आम्दानी गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो ।
कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु. तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।
वडा नं. १ दोवामा रु. ७० लाख, वडा नं. २ भुरुङ–तातोपानीमा रु. ३९ लाख, वडा नं. ३ दानामा रु. २१ लाख, वडा नं. ४ नारच्याङमा रु. १० लाख, वडा नं. ६ घारमा रु. ६० लाख र वडा नं. ७ हिस्तान दोसल्ले र औलामा रु. एक करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको उनले बताए ।
दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु. ५० हजारदेखि रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु. २० लाखको सुन्तला बिक्री गरेको छ ।
अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् ।
गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।
दोसल्लेका किसानले प्रतिकिलो रु. दुई सयसम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषि बालीमा सुन्तला रहेको छ ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनमा किसानलाई सहयोग गरिएको बताए ।

