म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं. ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ ।
सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।
डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच रु. एक करोड ६४ लाख १५ हजार दुई सय ५४ मा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले जानकारी दिए ।
काउसीबोट तर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ ।
संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाँडाका बासिन्दा लाभान्वित हुने भएका छन् ।
धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवत-जावतको लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिने उनले जनाए ।
बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताएको छ ।
धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुईवटा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो ।
धवलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं. ३ फलियागाँउ र दर जोड्ने दरखोलामाथि तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।
हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छवटा रहेको छ । रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने दुई सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।

