२०८३, कार्तिक १५ गते आइतबार

‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • ‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण


    चितवन । भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रा.लि.को फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ ।

    विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

    फर्मका सञ्चालकमध्येका प्रमुख सशन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किएको हो ।

    अमेरिकामा उच्च शिक्षा हासिल गरी उनले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय शुरु गरेको हो ।

    “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्”, उनले भने ।

    स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ ।

    फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि दस जनासम्म कामदार खटिने गरेका छन् ।

    यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत शुरु गरिएको छ ।

    प्रमुख देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ ।

    शुरुवाती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उनी बताउँछन् ।

    विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ ।

    उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उनको भनाइ छ ।

    आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

    “स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवर्द्धन गरेको छ”, उनले भने ।

    एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उनको अनुभव छ ।

    विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन् । व्यावहारिक शिक्षामा यसले टेवा पुर्याएको देवकोटाको भनाइ छ ।

    देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुन्द्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् ।

    “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ”, देवकोटाले भने, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।” उनले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताए ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार