२०८३, कार्तिक १२ गते बिहीबार

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।

    ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

    आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।

    “बाँध, विद्युतगृह, पाइपलाइन, प्रसारणलाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” उनले भने, “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ ।”

    वि.सं. २०७८ मा उक्त आयोजना निर्माण शुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार नौ सय मिटर मुख्य पाइपलाइन र तीन सय मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ ।

    यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ ।

    बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आवद्ध गराइएको छ ।

    देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल बेङ्गलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् ।

    रु. तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

    प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी शेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ् ।

    राहुघाट र सहायक नदीमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडको रुपमा ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।

    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार