२०८३, कार्तिक १५ गते आइतबार

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने


  • मेरोभ्यूज
  • बैशाख १२, २०८३ शनिबार

  • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

     

    काठमाडौँ । धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बसहरु वि.सं. २०८२ बैशाख ११ गतेदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा महानगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले काठमाडौँभित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    उक्त बैठकले तीन दिनभित्र सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेसँगै धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ सालमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । अधिकाशं जिल्लामा जाने सवारीसाधन नयाँ बसपार्क भित्रबाटै चल्ने भएपनि नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सवारीसाधन भने माछापोखरी क्षेत्रमा काउण्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए ।

    काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भएपनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारीसाधन भने नयाँ बसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका थिए ।

    यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।

    तर धादिङ, रसुवा र नुवाकोट चल्ने सवारीसाधनका चालकले नयाँ बसपार्कभित्रबाट चलाउन अटेर गर्दै आएका थिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जथाभावी रुपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए ।

    लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको प्रवक्ता सुवेदीले बताए । महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने प्रवक्ता सुवेदीले बताए ।

    नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रा.लि.का मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङ सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बसपार्कबाट छुट्टै ‘ट्रयाक’को व्यवस्था गरिएको बताए । यस्तै, उक्त दूरीमा जाने सवारीसाधनका लागि छुट्टै टिकट काउण्टरको समेत व्यवस्था मिलाइएको उनले बताए ।

    यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

    -----


    प्रकाशित : शनिबार, बैशाख १२ २०८३०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार