२०८३, कार्तिक १३ गते शुक्रबार

सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर


  • मेरोभ्यूज
  • बैशाख १४, २०८३ सोमबार

  • सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

     

    झापा । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो ।

    बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो ।

    अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उनले कति रात भोकै त कति रात अरूको मजदूरी गरेर बिताउनुपर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्विर बदलिएको छ । हिजो अर्काको मजदूरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित भएको छ ।

    सानैदेखिको गरिखाने यही सोचले आज उनलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो ।

    भृकुटीको सरस्वती टोलमा उनको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् ।

    झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

    वि.सं. २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु. दुई हजार सात सयको सानो पूँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताए । सीमित स्रोत र साधनका बाबजुद उनको दृढसङ्कल्पले आकार लिँदै गयो ।

    अहिले नर्सरी व्यवसायबाटै उनले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्छन् । उद्यम गरेरै उनले सुविधाजनक घर र घडेरी जोडेको छ ।

    “आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो”, उनी भन्छन्, “सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकोमा मजदूरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहेको छ ।”

    झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उनले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताए । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् ।

    उनले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आएको छ । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताए । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

    भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो ।

    कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उनको दैनिकी थियो ।

    स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उनले व्यापारको कखरा सिके । त्यतिमात्र होइन, उनले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गरे । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पूर्ण रूपमा स्वरोजगारको खोजीमा लागे ।

    शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उनले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गरे, जसले उनको जीवनलाई नयाँ मोड दियो ।

    “इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ”, उनको सफलतालाई नजिकबाट नियालिरहेका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्छन्, “आफ्नो अनुभव र सिपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उनले प्रमाणित गरिदिए ।”

    भीमबहादुरको यो व्यावसायिक फड्कोमा उनकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ ।

    “मैले कहिले पनि उनलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ”, भीमबहादुरकी पत्नी तुलसी भन्छिन्, “उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।”

    भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

    भानु माध्यमिक विद्यालयमा रु. ५० हजारको अक्षयकोष स्थापना गरेको छ भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाएको छ ।

    भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुटेको छ ।

    रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुन् ।

    मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदूरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुनुहुन्छ–भीमबहादुर ।


    प्रकाशित : सोमबार, बैशाख १४ २०८३०७:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार