२०८३, कार्तिक १५ गते आइतबार

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन शुरु

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन शुरु


  • मेरोभ्यूज
  • बैशाख १५, २०८३ मंगलबार

  • नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन शुरु

     

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन शुरु गरेको छ ।

    गण्डकी प्रदेशकै एक मात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ । वन क्षेत्रमा उपयोगविहीनरूपमा खेर गइरहेका झाडी तथा पातपतिङ्गरलाई व्यवस्थापन गर्दै त्यसबाट जैविक मल उत्पादन थालिएको हो ।

    वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले जानकारी दिए ।

    उनका अनुसार यस अभियानले वन व्यवस्थापनलाई व्यवस्थित बनाउने मात्र नभइ डढेलो नियन्त्रणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी गर्मीयाममा हुने डढेलो न्यूनीकरणमा यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

    अध्यक्ष खनालले भने, “वनमा खेर गइरहेका झाडीको सदुपयोग हुने, डढेलोको जोखिम घट्ने र कृषिमा रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वासका साथ यो योजना शुरु गरिएको हो ।”

    अध्यक्ष खनालका अनुसार यसले वातावरण संरक्षणसँगै दिगो कृषिमा समेत टेवा पुर्याउनेछ ।

    साथै, स्थानीय किसानलाई सस्तो तथा गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ ।

    रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तर ह्रास हुँदै गएको अवस्थामा वनले उत्पादन गरेको जैविक मलले दिगो रूपमा कृषि उत्पादन वृद्धिका लागि सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष खनालले बताए ।

    वनबाट सङ्कलन गरिएका झाडीलाई मसिनो गरी काटी त्यसमा गाईभैँसीको गोबर, खरानी, रातो माटोलगायत आवश्यक तत्व मिसाएर प्राविधिकको निगरानीमा मल तयार पारिने गरिएको छ ।

    मध्यविन्दु जैविक मल उत्पादन कार्यक्रमका संयोजक धनेश्वर कुँवरले मल उत्पादन प्रक्रिया वैज्ञानिक ढङ्गले अगाडि बढाइएको बताए ।

    उनका अनुसार मलको गुणस्तर कायम राख्न नियमित परीक्षण र अनुगमनसमेत गरिनेछ ।

    साझेदारी वनको स्वरोजगार कार्यक्रमअन्तर्गत आवश्यक जनशक्ति वन उपभोक्ताबाटै व्यवस्थापन गरिएको छ ।

    यस कार्यक्रममार्फत झाडी सङ्कलनदेखि मल प्रशोधन र तयारीसम्मको सम्पूर्ण प्रक्रियामा स्थानीय उपभोक्तालाई रोजगारी उपलब्ध गराइएको संयोजक कुँवरले बताए । यसले ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर बढाउने अपेक्षा गरिएको छ ।

    हाल पहिलो चरणमा मल उत्पादन प्रक्रिया जारी रहेको छ । करिब एक सय दिनमा मल तयार हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारण गरेर बिक्री वितरण गरिने योजना रहेको संयोजक कुँवरले बताए ।

    आगामी दिनमा उत्पादन विस्तार गरी अन्य स्थानमा पनि आपूर्ति गर्ने तयारी गरिएको छ ।

    यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी सिर्जना तथा कृषि उत्पादन वृद्धिमा बहुआयामिक लाभ पुर्याउने विश्वास गरिएको मध्यविन्दु साझेदारी वनका अध्यक्ष खनालले बताए ।

    सरकारी तह तथा सरोकारवाला निकायले समेत यस्ता कार्यक्रमलाई प्रोत्साहन गरेमा दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अध्यक्ष खनालले जनाए ।


    प्रकाशित : मंगलबार, बैशाख १५ २०८३१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार