२०८३, कार्तिक १५ गते आइतबार

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषि उद्यमी खनाल

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषि उद्यमी खनाल


  • मेरोभ्यूज
  • बैशाख १५, २०८३ मंगलबार

  • सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषि उद्यमी खनाल

     

    गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसारको सिप्लीकानका बिरुवा पुर्याउनै धौधौ छ ।

    विगत छ वर्षयता सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी गरी बिरुवा बेच्दै आएका खनालले यस वर्ष ५० हजार सिप्लीकानका बिरुवा तयार गर्ने लक्ष्य राखेको छ, तर बढ्दो मागका कारण बिरुवा पुर्याउन नसकिने अवस्था आएको छ ।

    पछिल्ला दिनमा विभिन्न कृषि समूहका साथै व्यक्तिगतरूपमा बिरुवाका लागि अत्याधिक माग आइरहेको खनालले बताए ।

    अघिल्लो वर्ष मात्रै करिब छ लाख बराबरका करिब आठ हजार बिरुवा तयार सिप्लीकानका बिरुवा बिक्री गरेको उनले जानकारी दिए ।

    विशेषतः पहाडि क्षेत्रमा पाइने बहुऔषधिय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ ।

    सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्याउने लक्ष्यसँगै आँफूले यसको व्यावसायिक खेती गरी बर्सेनी आम्दानी गरिरहेको खनालको भनाइ छ ।

    “परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दिर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ”, उनले भने, “लोपोन्मुख अवस्थामा पुगेको यो औषधिय वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ मैले व्यावसायिक खेती थालेको हुँ ।”

    कास्कीको रुपा, मादी, माछापुछ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भीमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै खनालले लोपोन्मुख अवस्थामा रहेको नासपतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्यसहित काम गरिरहेको बताए ।

    “कोभिड–१९ महामारीपछि विगत छ वर्षयता आफू यस खेतीमा लागेको थिए । यहाँ उत्पादित बिरुवा कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा पुगिसकेका छन् । यस वर्ष मागअनुसार पुर्याउने लक्ष्यसँगै ५० हजार बिरुवा तयार गर्ने गरी काम भइरहेको छ”, उनले योजना सुनाए ।

    खनालले व्यापार मात्र होइन, छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्दै आएको छ ।

    उनले प्रति बिरुवा रु. एक सयदेखि एक सय ५० सम्म बिक्री गरिराखेको छ । पर्यावरणीय सन्तुलनका लागि पनि यसको महत्त्व रहेकाले सबैले यसको संरक्षण गरी लाभ लिनुपर्ने उनको भनाइ छ ।

    उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।

    “एक पटक लगाएको सिप्लीकानको बिरुवाबाट चार पुस्तासम्म उत्पादन लिन सकिन्छ”, खनालले भने, “यसमा बाँदरले पनि क्षति पुर्याउँदैन । वर्षाको समयमा लगाइने लहरे तरकारीका लागि यसलाई थाँक्रोका रूपमासमेत उपयोग गर्न सकिन्छ ।”

    खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आएको छ ।

    यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ ।

    उनका अनुसार फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री वितरण गर्ने गरिएको छ ।

    स्वास्थ्यका लागि उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ ।

    यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिकतत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने चिकित्सकले बताएअनुसार आफूले यसको व्यवसायमा जोड दिएको खनालको भनाइ छ ।

    उनले फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएको छ ।

    कृषिबारे ज्ञान, सिप र प्रविधिबारे जानकारी गराउने भएकोले उनको फार्म एउटा जीवन्त पाठशालासमेत बन्दै गएको छ ।

    व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत छन् ।

    रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिने गरेको अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकानजस्ता खेतीतर्फ आफू लागेको उनको भनाइ छ ।

    यसबाट अन्य युवाले पनि प्रेरणा लिँदै व्यावसायिक उत्पादन गर्न सक्ने खनालले बताए ।

    व्यावसायिक कृषिका माध्यमबाट स्वदेशमा नै केही गर्छु भन्नेलाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने वातावरण राज्यले तयार गनुपर्ने र त्यसमा आफू पनि सहकार्य गर्न तयार रहेको उनले बताए ।


    प्रकाशित : मंगलबार, बैशाख १५ २०८३१०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार