कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरका सुरेन्द्र पुनले बङ्गुरपालन गरिरहेको छ । पाँच वर्षअघि उनले यो व्यवसाय शुरु गरेको हो ।
वैदेशिक रोजगारीमा जाने योजना छाडेर स्वदेशमै बङ्गुरपालन शुरु गरेका पुनले विदेश नगएकामा पछुताउनुपरेको छैन, बरु राम्रो आम्दानीसँगै खुसी मिलिरहेको छ । उनले हाल स्वदेशमै वार्षिक रु. १५ लाखसम्म कारोबार गर्ने गरेको बताए ।
“नेपालमा रोजगारीको अवसर नपाएपछि पाँच वर्षअघि विदेश जाने तयारी गरेको थिएँ, तर एक पटक देशमै केही गरेर हेरौँ न भन्ने सोच आयो, त्यसपछि करिब रु. सात लाखको लागतमा व्यावसायिक बङ्गुरपालनमा लागेको हुँ”, पुनले भने, “हाल विदेश नगएकामा कुनै पछुतो छैन । सोचेअनुसार नै आम्दानी भइरहेको छ । ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु. १५ लाख कारोबार गरिरहेको छु ।”
उनले हाल देशमै काम गर्दा विदेश गएका साथीहरूका भन्दा पनि राम्रो कमाइ भइरहेको सुनाए ।
“विदेश गएका साथीहरूसँग पनि कुराकानी हुन्छ । हाम्रो सिप र क्षमताअनुसार त्यहाँ पनि राम्रो काम पाइने होइन”, पुनले सुनाए, “शुरुमा केही समस्या हुन्छ कि भनेर चिन्ता लागेको थियो, तर विस्तारै राम्रो हुँदै गयो । हाल बङ्गुरको दानालगायतको सबै खर्च कटाएर वार्षिक रु. सात लाखसम्म बचत हुन्छ । परिवारसँगै बसेर आम्दानी पनि खुसी पनि मिलिरहेको छ, जुन कुरा विदेश गएको भए पाइन्थेन होला ।”
उनका अनुसार वर्षमा तीन सय जति पाठापाठी बिक्री भइरहेका छन् । रु. पाँच हजारका दरले पाठापाठी बिक्री हुने गरेका छन् । ठूला बङ्गुर मासुका लागि प्रतिकिलो रु. तीन सय वीसमा बिक्री हुने गरेका छन् ।
पुनले भने, “बजारको समस्या छैन । खोरबाटै ठूला बङ्गुर र पाठापाठी बिक्री हुन्छन् । पाठापाठीको माग धेरै छ । माग धान्न सकिरहेको छैन । हाल पाठापाठी बिक्री गरेर सकेको छु, अब खोरमा बच्चा पाउने आठवटा माउ बङ्गुर छन् ।”
पुनले उन्नत जातका बङ्गुरपालन गर्दै आएको छ । हाल उनको खोरमा डिउरो, हेमसार, ल्याण्ड्रेस र स्क्वायर जातका बङ्गुरपालन छन् । मेहनत गर्न सके आफ्नै देशमा राम्रै आम्दानी गर्न सकिने भन्दै पुन अन्य साथीलाई पनि काम गर्न उत्प्रेरित गरिरहेको छ ।
उनले आफूकहाँ आउनेलाई धेरै युवाहरूलाई देशमै केही गर्न सकिन्छ भनेर सम्झाउने गरेको र कतिपयले व्यवसाय पनि शुरु गरिसकेको बताए ।
“कुनै पनि काम सजिलो त हुँदैन, तर हात हाल्यो भने दत्तचित्त भएर काम गर्दा पछुताउनु पर्दैन, त्यसको उदाहरण म आफैँ हो । हामीजस्ता उद्यमीलाई सरकारले पनि अनुदान दिए व्यवसाय विस्तार गरी रोजगारीसमेत सिर्जना गर्न सकिन्छ । यसमा स्थानीय तहले पनि ध्यान दिनुपर्छ”, पुन भन्छन् ।

