२०८३, कार्तिक १५ गते आइतबार

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु


  • मेरोभ्यूज
  • बैशाख २३, २०८३ बुधबार

  • ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ ।

    गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको मुना जोड्ने छोटो दूरीको र वैकल्पिक सडक हो ।

    चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको यस आयोजना निर्माणका लागि २०८२ माघ महिनामा सापकोटा विल्डर्ससँग रु ७४ लाख ८६ हजार ४५२ मा ठेक्का सम्झौता भएको थियो ।

    यस वर्ष ताकमदेखि हिलापोखरी खण्डको ८०० मिटर दूरीमा सडकलाई फराकिलो पार्ने, ४५० मिटर नाली, २५० घनमिटर ग्यावियन पर्खाल र चार ठाउँमा खोल्सामा कल्भर्ट निर्माण गर्न लागिएको धौलागिरि गाउँपालिकाका सवइञ्जिनियर लोकेन्द्र रावलले जानकारी दिए ।

    गत फागुन महिनादेखि आयोजना निर्माणस्थलमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको छ । आगामी असार महिनासम्म ठेक्का सम्झौताको अवधि रहे पनि मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गर्ने निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले बताए ।

    इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि भएको असहज अवस्थामा पनि आयोजना निर्माणलाई निरन्तरता दिएको उनले बताए । ताकमदेखि शिवाङ–मच्छिम–घट्टेखोला हुँदै मुना जोड्ने मुख्य सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको क्रममा छ ।

    ताकमदेखि करिब छ किलोमिटर दूरीको हिलापोखरी हुँदै मुना जोड्ने कच्ची सडकमा २० मिनेटमा यात्रा गर्नुपर्छ भने शिवाङ–मच्छिम हुँदै मुना जोड्ने सडकमा हाल करिब ४० मिनेट लाग्छ । ताकमदेखि हिलापोखरी खण्डमा स्थानीयवासीको अगुवाइमा वि.सं. २०७० मा मार्ग खोलिएको थियो ।

    हिलापोखरी–सोलवाङ–मुनाखण्डको सडकको मार्ग खोल्ने काम स्थानीय तह कार्यान्वयनमा आएपछि भएको हो । ढोरपाटन र पूर्वी रुकुमसँग जोडिने रणनीतिक महत्वको मुख्य सडक बन्द भएको अवस्थामा र छोटो दूरीमा यात्रा गर्न चाहने हलुका सवारीसाधन तथा हिलापोखरी, सोलवाङका बासिन्दालाई सहज यातायातको व्यवस्था मिलाउन स्तरोन्नतिमा प्राथमिकता दिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    -----


    प्रकाशित : बुधबार, बैशाख २३ २०८३१२:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार