२०८३, कार्तिक १५ गते आइतबार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज


  • मेरोभ्यूज
  • बैशाख ३१, २०८३ बिहीबार

  • सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

     

    म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन् ।

    “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उनले भने, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५:०० बजे गाडी चढेर १०:०० बजे खाना खान घरमै पुगियो ।”

    यसअघि गुर्जादेखि लुलाङ हुँदै मुना पुग्न करिब नौ घण्टा भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । सडक सञ्जालमा जोडिएपछि गुर्जावासीको दैनिकी सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६५ घरपरिवारको बसोबास रहेको गुर्जाको एउटै बस्ती एकै वडामा समेटिएको छ ।

    यहाँको जनसङ्ख्या एक हजार ५०५ जना छ । गुर्जावासीलाई दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको वडासदस्य गुनराम छन्त्यालले बताए । “पहिले बिरामीलाई अस्पताल लैजान हेलिकप्टर बोलाउनुपर्ने अथवा बोकेर लुलाङ पुर्याउनुपर्ने अवस्था थियो”, उनले भने, “गाडीको सुविधा भएपछि बिरामीलाई सहज रुपमा समयमै अस्पताल पुर्याउन र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज र सस्तिएको छ ।”

    पर्यटकको चहलपहल बढ्यो

    लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जासम्म मार्ग खुलेपछि पछिल्लो एक महिनायता जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । ८८ वर्षीया चनमती छन्त्यालले गाडीसँगै आफन्तहरु भेट्न र घुम्न आउन थालेका बताए । अर्का स्थानीय गुनप्रसाद विश्वकर्माले गाउँमा गाडी आउँदा खुसी लागेको बताए । “गाडी चल्न थालेपछि कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ”, उनले भने, “गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।”

    म्याग्दी जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँलगायत सहरबाट गुर्जा घुम्न जानेहरु बढेका छन् । लुकेको बस्तीको रुपमा चिनिएको गुर्जामा छन्त्याल संस्कृति, जीवनशैली, खानी, हिमाल, वनस्पती, जडीबुटी, पशुगोठ, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

    म्याग्दीका सबै वडा सडक सञ्जालमा जोडिए

    धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकताप्राप्त योजना भएको बताए । “चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा अड्किएको सडकको मार्ग खोलेर खोरिया, लमसुङ, लुलाङ हुँदै गुर्जासम्म यातायातको सुविधा विस्तार गर्न सफल भएका छौँ”, उनले भने, “गुर्जासँगै धौलागिरिका सातवटै वडा मात्र नभएर म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडाहरु यातायात सञ्जालमा जोडिएका छन् ।”

    लुलाङदेखि गुर्जासम्म सडकको दूरी करिब २२ किलोमिटर छ । आर्थिक वर्ष २०७९/०८० मा लुलाङदेखि सडकको मार्ग खोल्न थालिएको थियो । चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    सडक स्तरोन्नतिको माग

    यातायात व्यवसायी लुकेश रसाइलीले लुलाङ र गुर्जाको सिमाना देउराली र लत्रवाङ खण्डको सडक स्तरोन्नति गर्नुपर्ने बताए । तीन हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ क्षेत्रको सडकलाई फराकिलो बनाउनुपर्ने, घुम्ती, ग्रेड मिलाउन तथा ढलान र सोलिङ गर्नुपर्ने उनले बताए ।

    “चिसोमा हिउँ नपग्लिदै र बर्खामा आकाशबाट पानी नपर्दै लत्रवाङ–देउराली खण्ड पार गरिसक्नुपर्छ”, उनले भने, “हिलो र चिप्लोमा सवारीसाधन उक्लन नसक्ने, फस्ने समस्याका साथै साघुरा घुम्तीमा गाडी गुडाउन जोखिम पनि उत्तिकै छ ।” गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल बनाउन आवश्यक छ ।

    हाल खोलाबाटै सवारी साधन आवतजावत गर्छन् । काठमाडौँमा बसोबास गर्ने गुर्जावासीहरुले कम्जाखोलामा अस्थायी पुल बनाउन आर्थिक सङ्कलन अभियान चलाएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चालु आवकै ठेक्काको बाँकी काम र प्रदेश सरकारले हस्तान्तरण गरेको रु ५० लाख बजेटबाट अप्ठ्यारो ठाउँमा सुधार, मर्मत र स्तरोन्नति गरिने बताए ।

    प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको क्रममा रहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ ।

    गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी राजमार्गको परिकल्पना

    धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले गुर्जा हुँदै कर्णाली प्रदेशको डोल्पा जोड्ने उच्च पहाडी राजमार्ग बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दालाई राजधानी काठमाडौँ पुग्न छोटो बाटो बन्ने बताए ।

    “गुर्जाका बासिन्दाहरु पहिला भोटमा नुन लिन र गोठ लिएर डोल्पा जान आउन प्रयोग गर्ने मार्गलाई सडक बनाउन सकेमा डोल्पाबाट ५०० किलोमिटर दूरीमै काठमाडौँ पुग्न सकिन्छ”, उनले भने, “हिमाली र उच्च पहाडी भूगोलमा पर्ने भएकाले म्याग्दीको गुर्जा हुँदै डोल्पा जोड्ने सडकलाई उच्च पहाडी मार्गको रुपमा विकास गर्न सकिन्छ ।”

    वडाध्यक्ष छन्त्यालले प्रतिनिधिसभा सदस्य महाविर पुन र म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीमार्फत गुर्जा डोल्पा जोड्ने उच्च पहाडी लोकमार्गको प्रस्ताव सङ्घीय र प्रदेश सरकारसँग गरिएको बताए ।

    -----


    प्रकाशित : बिहीबार , बैशाख ३१ २०८३१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार