२०८३, कार्तिक १५ गते आइतबार

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा


  • मेरोभ्यूज
  • जेठ ३, २०८३ आइतबार

  • सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

     

    बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माणकार्य द्रुतगतिमा भइरहेको छ । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर (सिडीइ) मनोजकुमार साहले बताए ।

    उनका अनुसार २३.४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको छ । हालसम्म नहरको निर्माणकार्य २५ प्रतिशत प्रगति भएको छ ।

    नेपालगन्ज–सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा सुरुङमार्फत डुडुवा नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा.लि.ले रु एक अर्ब १२ करोडको लागतमा यो नहर निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ । नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको आयोजनाका सूचना अधिकारी साहले बताए ।

    सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डुडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा विस्तार हुने साहको भनाइ छ ।

    सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रूपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुक्खा र खडेरीको मारमा परेका किसानलाई राहत मिल्ने सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीको विश्वास छ ।

    -----


    प्रकाशित : आइतबार, जेठ ३ २०८३१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार