२०८३, कार्तिक १५ गते आइतबार

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज


  • मेरोभ्यूज
  • जेठ ९, २०८३ शनिबार

  • गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

     

    नेपालगञ्ज । पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् ।

    साँघुरा र धुलाम्मे सडक कालोपत्रे गरिएका छन् भने हरियालीले नगरको शोभा बढाएको छ । राता नीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग छन् ।

    हरियाली विस्तार अझै आवश्यक भएको उनी बताउँछन् । सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमक मात्र बढाएका छैनन्, अपितु यिनले पानीका स्रोत जोगाउनुका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् । “हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ । यसका साथै हरियाली प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ”, उनले भने । यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ ।

    नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनुका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।

    हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउँछन् । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेको उनको ठम्याइ छ ।

    तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उनले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ ।

    अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो । यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसल कबलसहितका घर निर्माण गरेर नेपालगञ्ज सहर विस्तार गरिएको हो । यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ ।

    -----


    प्रकाशित : शनिबार, जेठ ९ २०८३१०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार