महोत्तरी । पूर्व-पश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला)का रूखमा ढकमक्क फूल फुलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन् ।
यसपाली यहाँ ठूलो हुरीबतास र असिना नपर्दा माहुरीलाई अनुकूल मौसम भएको माहुरीपालक किसानको भनाइ छ ।
“यहाँका वनमा फागुनको शुरुवातदेखि नै वनस्पतिमा राम्ररी फूल फुलेका छन्, त्यसैले माहुरी चराउन यहाँ आएका हौँ”, चितवन खैरहनी–४ का ४५ वर्षीय सुरेश बस्नेत भन्छन् ।
उनले यसपाली फागुन पहिलो साता महोत्तरीका वनमा राखेका दुई सय ८४ घार माहुरीबाट हालसम्म २० क्विन्टल मह उत्पादन भएको जानकारी दिए ।
“अझै छ/सात क्विन्टल उत्पादन हुन्छ होला । यसपाली हालसम्म महबाट रु. दस लाख जति आम्दानी लिइयो । यहाँका वनका वनस्पतिका फूलमा प्रशस्त रस हुँदा राम्रो मह उत्पादन भएको हो”, बस्नेतले भने ।
चितवन कालिका–७ का अशोक बस्नेतले यहाँका विभिन्न क्षेत्रमा एक सय २५ घार माहुरी राखेको छ । उनले गत फागुन पहिलो सातायता हालसम्म आठ क्विन्टल मह उत्पादन भएको बताए ।
यस्तै, खैरहनी–८ का ३५ वर्षीय युवराज कार्कीले एक सय तीन घार माहुरीबाट सात क्विन्टल मह उत्पादन गरिसकेको बताए ।
सबैभन्दा पाका ७७ वर्षीय अशोक बस्नेतको प्रेरणाले आफूहरू माहुरीमा रमेको बस्नेत र कार्कीको भनाइ छ ।
“म कमाउन भनेर सउदीअरेबिया पनि गएँ, भनेजस्तो काम नपाएर फर्केपछि यहीँ माहुरीपालनमा लागे”, सुरेशले भने, “यसै व्यवसायबाट केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । पछिल्ला तीन/चार वर्षयता राम्रै कमाइ भइरहेको छ ।”
मामा अशोकको प्रेरणाले आफू माहुरीपालनमा लागेको र अब यही व्यवसायबाट सन्तुष्टी मिलेको कार्कीको भनाइ छ ।
उद्यम सञ्चालन गर्न चितवनका कृषिसम्बद्ध सरकारी कार्यालय र स्थानीय तहले अनुदान दिएकाले व्यवसाय सञ्चालनका लागि आफूहरूलाई सहयोग पुगेको मौरीपालक किसानले बताउने गरेका छन्, तर कु-काठबाट बन्ने घारमा बढी रकम काटिँदा अनुदान रकमको ठूलो हिस्सा त्यसैमा जाने गरेको धेरैजसोको भनाइ छ ।
“कृषि कार्यालयले यस्ता घार अनुदान रकमबाट कट्टा हुनेगरी उपलब्ध गराउँछन्, यसको मूल्य प्रतिघार रु. तीन हजार पाच सय काटिन्छ”, सुरेश भन्छन्, “सरकारले हामीलाई कु-काठ उपलब्ध गराए हामी आफैँ कम लागतमा घार बनाउँथ्यौँ । यो व्यवस्था हुन नसक्दा अनुदान रकमको ठूलो हिस्सा घारमै जाने गरेको छ ।”
महोत्तरी माहुरीका लागि राम्रो चरणको क्षेत्र भए पनि यही जिल्लाका किसान भने यसतर्फ आकर्षित हुनसकेका छैनन् ।

