२०८३, कार्तिक १४ गते शनिबार

विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान

विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान


  • मेरोभ्यूज
  • जेठ २६, २०८३ मंगलबार

  • विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान

     

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ ।

    विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विजय सुवेदीले बताए ।

    एक महिनासम्म सञ्चालन हुने तालिममा २० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । स्थानीय मनबहादुर परियारले पठनपाठन हुनेबाहेकको समयमा दैनिक एक घण्टाका दरले निगालोबाट चोया बनाउने र विभिन्न सामग्री बुन्ने सीप सिकाएका छन् ।

    निगालो र बाँसको चोयाबाट डोको, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाइने सहायक प्र.अ. सुवेदीले बताए । अघिल्लो पुस्ताका नागरिकको मृत्यु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान र सीप हस्तान्तरण नभएको र प्लास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ । सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरणमैत्री हुन्छन् ।

    प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन विद्यार्थीहरूको मागबमोजिम सीप हस्तान्तरण गर्न लागिएको हो । प्रतिडोकालाई रु एक हजारदेखि दुई हजार ५०० मूल्य पर्छ ।

    गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर बन्न र वायु प्रदूषण बढाउने प्लास्टिकजन्य सामानको आयात घटाई आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमलाई चार वर्षयता निरन्तरता दिँदै आएको छ ।

    ‘हाउस वायरिङ’, ‘प्लम्बिङ’, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको नगर प्रमुख सुरत केसीले बताए ।

    -----


    प्रकाशित : मंगलबार, जेठ २६ २०८३१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार