भोजपुर । हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकूद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।
स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ ।
हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाका अनुसार खेलकूदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागुपदार्थ दुर्व्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ । बिहान–बेलुका नियमितरूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन् ।
यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।
यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ । यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ ।
वडाले आगामी दिनमा खेलकूद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नती तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ ।
स्थानीयस्तरमै खेलकूदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ ।

