२०८३, कार्तिक ११ गते बुधबार

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट


  • मेरोभ्यूज
  • आषाढ २७, २०८३ शनिबार

  • पाहुनालाई कोसेली कोदोको बिस्कुट

     

    इलाम । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ ।

    उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन शुरु गरेको हो ।

    अनुदान पाएर हाल नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन शुरु गरेकी छिन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन शुरु गरेको उनको भनाइ छ ।

    उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन शुरु गरेकी हुन् ।

    भट्टराईले ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको उनले बताइन् ।

    तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएकी छिन् ।

    उत्पादन शुरु गरेको भर्खरै मात्र भएकाले हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उनको भनाइ छ ।

    माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ छ ।

    कोदोको परिकार शक्तिवर्धक मानिन्छ । यसमा मिसाइने गुलियो या मह, चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ ।

    सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत निर्माण गर्ने गरेकी छिन् । तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उनी बताउँछिन् ।

    स्वास्थ्यका लागिसमेत राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा रहेको सञ्चालक भट्टराई बताउँछिन् ।

    मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएकोसमेत उनको भनाइ छ ।

    गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदोको समेत ‘ब्रान्डिङ’ हुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए ।

    उनले बिस्कुट बनाउन थालेपछि कोदोलाई ‘ब्रान्ड’ बनाउन सकिने सम्भावना देखेको उल्लेख गरिन् ।

    पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको छ ।

    गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने र उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्षको भनाइ छ ।

    उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले बताइन् । उनका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको छ ।

    गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको जनाइएको छ । विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न र आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

    उनले यो कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिइन् ।

    युवा तथा उद्यम गर्न चाहानेहरुले नयाँ र रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिङ्गो गाउँपालिकालाई नै फाइदा मिल्ने उनको भनाइ छ । वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक छ ।


    प्रकाशित : शनिबार, आषाढ २७ २०८३०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार