काठमाडाैं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् ।
शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपाली सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर जागेका छन् ।
तीमध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पाेर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राज कुमार थापाले जानकारी दिए । थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन पाेर्चुगलले आवश्यक कानूनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा चिरन्जीवि खड्काले जानकारी दिए ।

