पोखरा । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छिन् । शहरी नीति परिमार्जन र शहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै उनले यसका लागि उपयुक्त नीति आवश्यक रहेको बताइन् ।
शहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक दिने कार्यशालामा मन्त्री झाँक्रीले शहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको समेत बताइन् ।
उनले भनिन्, ‘शहरी विकास नीतिमा सबैको अपनत्व होस् भनेर सबैसँग मन्त्रालयले छलफल गरिरहेको छ । नीति परिमार्जन र ऐन बनाउने काम विज्ञलाई जिम्मा दिँदा पनि हुन्थ्यो । तर यसमा सबैको स्वामित्व हुनुपर्छ भनेर नै यसरी छलफल गर्नुपर्ने आवश्यकता परेको हो । यो गुणस्तरीय जीवनसँग जोडिएको विषय हो । यसमा सबैको स्वामित्व भएर नीति निर्माण भयो भने शहरीकरणमा दीर्घकालीन समस्या समाधान हुन्छ ।’
गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य रघुराज काफ्लेले नेपालमा शहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए । उनले सरकारले परिमार्जन गर्ने शहरी नीति र ल्याउने ऐन आगामी दिनमा व्यवस्थित शहरीकरणका लागि महत्वपूर्ण हुने बताए ।
शहरी विज्ञ जिपी गोरखालीले विषयवस्तुमाथि प्रकाश पारेका थिए । उनले शहरी विकास र यसका विविध आयाममाथि स्पष्ट पारेका थिए । शहरी विकास नीति र शहरी विकास ऐनबारे मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए ।
कार्यशालामा सहभागी गण्डकी प्रदेशभित्रका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले संघीयतासँगै तीनै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै यस्ता विषय शहरी नीतिमा ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यशालामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका विभिन्न जिल्लाका नगरप्रमुख उपप्रमुखलगायतका उपस्थिति थियो । मन्त्रालयले देशभरका विभिन्न स्थानमा विकास निर्माणका काम गर्दा राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमासम्बन्धी कार्यशाला गर्दै आएको छ । मन्त्रालयले हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा कार्यशाला सम्पन्न गरेको छ ।

