काठमाडौं । युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकूद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् र राष्ट्रिय स्कुल खेलकूद महासंघको संयुक्त आयोजनामा सुरू भएको तीनदिने विद्यालय खेलकूद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि खेलकूद विश्वविद्यालयको आवश्यकता महशुस भएको बताएका हुन् ।
नेपालमा सबै प्रकृतिका खेल खेल्न सक्ने उपयुक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री अथकले त्यसको आधार तयार गर्न खेलकूद विश्वविद्यालय संचालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दाे माध्यमका रूपमा खेलकूदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको उनको गुनासो थियो । ‘राज्यले कुल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रका लागि छुट्याएको छ’, मन्त्री अथकले भने, ‘यसैबाट सबै प्रशासनिक तथा खेल पूर्वाधार निर्माणका काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास ।’
खेलकूदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख उनको भनाइ छ । ललितपुरको सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखि तीनदिने विद्यालय खेलकूद शिक्षक तालिम सञ्चालन गरिएको छ ।

