२०८३, कार्तिक ११ गते बुधबार

सम्बाेधन
‘राम्रोका लागि जनार्दन र म बेलाबेला अगुल्टो ठोस्सिए झै ठोस्सिने गरेकै छौं’

‘राम्रोका लागि जनार्दन र म बेलाबेला अगुल्टो ठोस्सिए झै ठोस्सिने गरेकै छौं’


  • पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • भाद्र २, २०८१ आइतबार

  • ‘राम्रोका लागि जनार्दन र म बेलाबेला अगुल्टो ठोस्सिए झै ठोस्सिने गरेकै छौं’

    जनार्दनसँग भेट भएदेखि हामी अक्षुण रुपमा सँगै काम गर्दै आइरहेका छौँ । हाम्रो स्वभाव के हो भन्ने बारेमा सिङ्गो पार्टी र देशले बुझेकै छ । त्यसकारण हामी बेलाबेलामा अगुल्टो ठोस्सिए झैँ ठोस्सिने गरेकै छौँ । जनयुद्धकाल, जनयुद्धपछि र अहिले पनि । तर अगुल्टो ठोस्सिए जस्तै ठोस्सिनु राम्रोका लागि हुँदै आएको छ । यो पटक अझ राम्रो हुनेछ । यो विवाद र वहसले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने छ । यसले जनार्दन र मेराबीचमा बेलाबेला हुने आशङ्का दूर गर्न र समझदारीलाई मजबुद गर्न सहयोग गर्नेछ । यसपटक कार्यालय र स्थायी समितिको बैठक होस् वा आउँदै गरेको केन्द्रीय समितिको बैठक भिन्नरुपले अघि बढाउने सोचेको छु । विवाद र आशङ्काको बीचमा पनि जनार्दनसहित सबै नेतासँग बैठकलाई कसरी लैजाने भन्ने सल्लाह गरेर, खुला छलफल गर्न दिऔँ, केही बिग्रदैन, छलफलले अन्ततः पार्टीलाई सही निष्कर्षमा पुर्याउँछ भन्ने समझदारीअनुसार नयाँ ढङ्गले बैठक अघि बढेका छन् । हामीले खुला हृदयले, आफ्नो मनभित्र रहेका सही वा गलत, मनोगत वा वस्तुगत, जे छन् भित्र त्यो बाहिर आओस् भनेर छलफल गरेका छौँ । प्रचण्डका अगाडि पर्दा सबैले मिठा र राम्रा कुरा गर्ने । हाम्रो महान् नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारेहात लगाउने सङ्ख्या बढेको छ, मलाई त्यो थाहा चै हुन्थ्यो । ककसले के के गरिरहेका छन्, त्यो थाहा नहुने कुरा भएन । तर यस पटक सबै नेता कमरेडहरुको भित्र जे छ सबै बाहिर आओस् भन्ने चाहेर नै बैठकलाई नयाँ ढङ्गले लिएर जाने जमर्को गरियो । स्थायी समितिसम्म आउँदा जनार्दनले भनेको जस्तै राम्रोतिर अघि बढेको छ । पार्टी फुट्छ कि भन्ने भ्रम अन्त्य भएको छ । 

    मैले जनार्दनले पार्टी फुटाउँदै छन् भनी कहीँ भनेको छैन, सोचेको पनि होइन, तर भ्रमै भ्रम, वरिपरिकाले भन्दै जाने, अर्कोले भन्ने गर्दा साँच्चै पार्टी फुटाउन प्रतिक्रियावादी हिजो पनि लागेकै हुन्, आज पनि लागेका छन् । माओवादीलाई कमजोर बनाउन, टुटाउन त प्रतिक्रियावादी लागि नै राख्छन् । कहीँ न कहीँ आशङ्काको तुँवालो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा त्यो तुँवालो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समितिले खारेज गरेको छ । जनार्दनले पार्टी फुटाउँदै छ भन्ने असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । सबैका निम्ति यो खुसीको कुरा हो । फुटका बारेमा फेरि पनि आशङ्का गर्नु जरुरी छैन । जनार्दनले पनि मलाई यसो भनियो, उसो भनियो भन्न जरुरी छैन । टुङ्गिएको कुरालाई सोही अनुसार बुझ्नु र त्यसलाई सोहीअनुसार सम्प्रेषण गर्नु उपयुक्त हुन्छ ।

    जहाँसम्म उहाँले आफ्नो विचार राख्नुभयो । जनार्दनले मेरो विचार फरक मत होइन भनेर स्थायी समितिमा स्पष्ट भन्नुभएको छ । यो मेरो मत चाहीँ हो, कतिपय नेता मौखिक राख्नुभयो, मैले लिखित राखेँ, तर यो फरक मत चै होइन, पार्टीले दस्तावेज बनाउँदै गर्दा यसलाई आत्मसात गरोस् भन्ने ‘स्प्रिट’लाई स्थायी समितिले स्वीकार गरेको छ । उहाँले प्रस्तुत गरेको मतलाई पनि मैले केन्द्रीय समितिका निम्ति दस्तावेज बनाउँदै गर्दा आत्मसात र समाहित गर्ने कुरा भइसकेको छ । केही गम्भीर आशङ्कका कुरा थिए, छन्, अझै पनि । त्यसका बारेमा कार्यालय र स्थायी समितिको बैठकमा पनि मैले र जनार्दन दुवैले अध्ययन र अनुसन्धान गर्ने भन्ने भएको छ । आशङ्काको स्थिति कसरी बन्यो ? भन्ने बारेमा जनार्दन र म सँगै बसेर अध्ययन अनुसन्धान गर्ने, जरुरी पर्छ भने पार्टी केन्द्रबाट टिम बनाएर भए पनि त्यस्ता आशङ्कालाई निराकरण गर्ने निर्णय भएपछि पार्टीभित्र जे ‘कन्फ्युजन’ थियो, त्यो मुलभूतरुपमा चिरिएको छ ।

    अब जनार्दनले आफूमाथि अत्याचार भएको भनिराख्न जरुरी छैन । तपाईंले वहस गरेर राम्रै भयो । यदि तपाईंले उठाएका प्रश्नलाई मुल नेतृत्वले नकारात्मक रुपमा लिएको भए केन्द्रीय कार्यालयको बैठकमा दुई/दुई घन्टा धर्यतापूर्वक सुन्न लगाएर सम्बोधन गर्न सकिने कुरालाई सम्बोधन गरिने थिएन । यसलाई जनार्दनले पनि गहिरोसँग आत्मसात गर्न जरुरी छ । पार्टी फुटको कुरा खारेज गरिएको छ । अब त्यो भ्रममा कोही रहनु आवश्यक छैन । माओवादी पार्टी अझ एकताबद्ध भएको छ । माओवादी घटकका साथै अन्य वामपन्थी दलसँग पनि एकता गर्ने प्रयास भइरहेको छ । जानेर वा नजानेर पार्टीकै जिम्मेवार कामरेडले तथा प्रतिक्रियावादी र अवसरवादीका तर्फबाट अहिले पार्टी फुटका बारेमा जे भ्रम छर्न खोजिएको छ, त्यो अन्त्य भएको छ । मेरो सचिवालयमा बस्नेहरुले बढी प्रचार गरे भन्ने जनार्दनको भनाइ छ, त्यसको पनि अध्ययन गरौँ, हामी अनुसन्धानका लागि तयार छौँ । अब पार्टी नेता कार्यकर्ता र शुभेच्छुक तनावमा बस्नु जरुरी छैन । हामी एकताबद्ध छौँ, एकताबद्ध भएरै अगाडि जान्छौँ भनेर स्थायी समिति बैठक सकिएलगत्तै पनि सञ्चारमाध्यममा भनि सकेको छु ।

    समाजावादी क्रान्तिको तयारी
    हामी समाजवादी क्रान्तिको तयारीमा छौँ । जसरी जनयुद्धको तयारीका बेलामा हामीले सङ्कल्प लिएका थियौँ, हामी जनवादी क्रान्तिका निम्ति दीर्घकालीन जनयुद्धको रणनीतिअनुसार गाउँबाट सहर घेर्ने उद्देश्यका साथ जनयुद्धमा जान्छौँ, त्यसका लागि आवश्यक विचार, राजनीति, सङ्गठन र प्राविधिक तयारी गरी जसरी नेतृत्व गरिएको थियो, आज हामी समाजवादी क्रान्तिका निम्ति अगाडि बढ्नु छ भन्ने सङ्कल्पका साथ अघि बढिएको छ । जतिबेला हामी जनयुद्धको तयारी गर्दै थियौँ त्यतिबेला निकै ठूलो वहस र विवाद थियो । विवाद र वहसकै बीचबाट हामीले जनयुद्धको तयारी गर्यौँ, प्रवेश गर्यौँ र शान्ति प्रक्रियामा आइपुगको छौँ । अहिले समाजवादी क्रान्तिका निम्ति ठूलो वहसमा प्रवेश गरेका छौँ । त्यसकारण हामी आत्तिनुपर्ने कुनै कारण छैन । मलाई विश्वास छ, यो वसहले पार्टीलाई अझ एकताबद्ध गरी समाजवादी क्रान्तिको नेतृत्व गर्ने पार्टी बनाउनका निम्ति मद्धत गर्छ । 

    अहिले पनि हामी वर्ग सङ्घर्ष मै छौँ । १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने सङ्कल्प लिएको हो । इतिहासमा सम्झन लायक केही मानक स्थापित गर्न सफल भयौँ । यति धेरै भ्रष्टाचारीहरु कारबाहीको दायरामा आएको नेपालको पछिल्लो इतिहासमा अरु छैन । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने माफियागिरीका विरुद्ध सङ्घर्ष गरेकै हो । ललितानिवास, बाँसबारीलगायत कयौँ सरकारको जग्गा सरकारकै नाममा ल्याउने काम गरेका छौँ । अन्तर्राष्ट्रिय रुपमा यसपटक हामीले कीर्तिमान कामय गरेकै छौँ । माओवादीको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको महासभा, जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र खाद्यसम्बन्धी विश्व सम्मेलनमा नेपालका तर्फबाट जवरजस्त हस्तक्षेप गरिएको छ । नेपाल र नेपालको नेतृत्वलाई विश्व समुदायले राम्रोसँग आत्मसात गरेको छ । फलस्वरुपः राष्ट्र सङ्घका महासचिव नेपाल आएर जलवायु परिवर्तनको भयानक असरलाई आफैँले प्रत्यक्ष अनुभूत गर्ने गरी सगरमाथा र अन्नपूर्ण आधार शिविरको भ्रमण गर्नुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट महासचिव र मैले विश्वशान्ति र स्थिरताको निम्ति अपिल गर्ने विषयलाई सामान्य ठान्नु हुँदैन । त्यो माओवादी नेतृत्वकै कारण सम्भव भयो ।

    भ्रष्टाचारीलाई कारबाही गर्ने क्रममा तथाकथित सङ्ख्याको बलमा हामीलाई सरकारबाट निकाल्ने जमर्को गरियो । भ्रष्टाचारीलाई कारबाही गर्दै गएको तथा सुशासनको पक्षमा माओवादी सरकार दह्रोसँग उभिएकै हुनाले भ्रष्टहरु मिले भन्ने तथ्यलाई आमजनताले स्पष्टसँग बुझ्नुभएको छ । हामीले दलालका अघि आत्मसमर्पण गरेनौँ, उनीहरुको सेटिङ भत्कायौँ । विचौलियाविरुद्ध सङ्घर्ष गरकै कारण वर्गसङ्घर्षका रुपमा व्यक्त भएको हो । यो तथ्यलाई जनताका बीचमा लगेर सङ्गठन विस्तार र सुदृढ गर्ने र फेरि एकपटक समाजवादी क्रान्तिको तयारी निम्ति सदुपयोग गर्नुपर्छ । यो बेला अझ एकताबद्ध पार्टी चाहिएको छ । ठोस कार्ययोजना र कार्यक्रम चाहिएको छ । पार्टीका एकता उपदेशबाट होइन, वहस र सङ्घर्षबाट हुने हो । हामीले ठिक ढङ्गबाट वहस र सङ्घर्ष बढाएका छौँ । हामीले समाजवादी क्रान्तिको नेतृत्व गर्नेछौँ ।

    (नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पकै समितिको दोस्रो जिल्ला सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको सम्बोधनको सम्पादित अंशः)


    प्रकाशित : आइतबार, भाद्र २ २०८१०७:५०
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार