२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको आकर्षक बन्दै बिचित्र गुफा

पर्यटकको आकर्षक बन्दै बिचित्र गुफा


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८१ मंगलबार

  • पर्यटकको आकर्षक बन्दै बिचित्र गुफा

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ ।

    गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ । विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएको थियो ।

    विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे । पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन् । यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।

    एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भू-भागमा गुफा फैलिएको छ । यति लामो भू-भागमा फैलिएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

    स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानका लागि गएको अवस्थामा ढेँडुबाँदरलाई लखेट्ने क्रममा ढेँडुबाँदर एकाएक पहरा(चट्टान)को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ ।

    उक्त ढेँडुबाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए । बिचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ ।

    गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने चलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ ।

    बिचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो निकै नै महत्वपूर्ण मानिन्छ ।‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरु मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्ग जाने बाटो एकदमै साँगुरो छ । त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिकरुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्टरुपमा देख्न सकिन्छ ।

    त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि उक्त ठाउँलाई बिचित्रताको अन्तिम दृश्यको रुपमा मानिन्छ । जो मानिस त्यहाँ भित्र छिर्न सक्छ उसले आफूलाई साह्रै भाग्यमानी ठान्दछ ।

    गुफा भित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी लागत लागेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न मदन भण्डारी राजमार्ग भएर सकिन्छ ।


    प्रकाशित : मंगलबार, कार्तिक २७ २०८१०९:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार