काठमाडौं । ४२औँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले रु तीन लाख र द्वितीय हुने टिमले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले रु १५/१५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १०/१० हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि बिजेता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टिमतर्फ कोशी प्रदेश प्रहरी कार्यालयको टिम उत्कृष्ट घोषित भएका थिए ।
यही पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने अवसरका रूपमा रहेको बताए । उनले आगामी दिनमा नेपाल प्रहरीको फुटबल टिमलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ यथोचित पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशनसमेत दिए ।

