२०८३, कार्तिक ११ गते बुधबार

नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस


  • मेरोभ्यूज
  • पौष १६, २०८१ मंगलबार

  • नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

    कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

    कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस देखापरेका हुन् ।

    चार वर्षदेखि निरन्तररुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौराले बताए ।

    नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ । सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखापरेको थियो ।

    सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तररूपमा देखापर्दै आएको चरा विज्ञ डगौरा बताउछ ।

    उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पक्षीका रूपमा चित्रण गर्ने गरिन्छ ।

    साइवेरियालगायत उत्तरी ध्रुवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पक्षी नेपालको महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ ।

    कहिलेकाही कञ्चनपुरका सनवोरा, स्यालीलगायत नदी तटीय क्षेत्रमा पनि यस प्रजातिको सारस देखापर्ने गरेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताए ।

    गतवर्ष स्याली नदीको बगरमा सयौँको सङ्ख्यामा लक्ष्मण सारस देखापरेको उनले उल्लेख गरे ।

    यलाई अङ्ग्रेजीमा कमन क्रेन (ग्रस ग्रुस) भन्ने गरिन्छ । सारस प्रजातिमध्ये यो मध्यम आकारको रहेको छ । यसको शरीरको तौल औसत चारदेखि पाँच किलोग्रामसम्म र शरीरमा रहेका प्वाँखको रङ्ग खरानी किसिमको हुन्छ ।

    यस्तै, टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङ्गको हुन्छ । यस चराले साइवेरियालगायत ठाउँका ताल तलैया, सीमसार क्षेत्रमा प्रजनन् गरी बच्चा कोर्लने गरेको चरा विज्ञहरूको भनाइ छ ।

    उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो प्रजातिको सारस बर्सेनी नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको चरा विज्ञ डगौराले जानकारी दिए ।

    सोही क्रममा ती चराहरू अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् ।

    “सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ”, उनले भने,“यी चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषि बालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् ।

    यसका साथै बाघ, चितुवाजस्ता हिंस्रक जनावर नजिक आउन लागेमा सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गरेको पनि जानकारहरू बताउँछन् । गर्मी सुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्कने गरेका छन् ।


    प्रकाशित : मंगलबार, पौष १६ २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार