२०८३, कार्तिक १३ गते शुक्रबार

प्याज खेतीमा जुट्दै किसान

प्याज खेतीमा जुट्दै किसान


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • प्याज खेतीमा जुट्दै किसान

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिकरूपमा प्याज खेती सुरु गरेका हुन् ।

    दुई बिघाा दस कट्ठा जमिन भाडामा लिएर प्याज खेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताए । “व्यावसायिक खेती गर्ने सल्लाह बमोजिम प्याज रोपिएको हो”, उनले भने, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”

    पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकोमा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उनले बताए ।

    “समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भने, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”

    प्रतिकट्ठा न्यूनतम छ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताए । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उनले बताए ।

    यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।

    सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताए ।

    सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिकरूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताए ।

    “गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याज खेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उनले भने, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याज खेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याज खेतीमा जुटेका छन् ।

    परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा वीस बिघा जमिनमा प्याज खेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।


    प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार