२०८३, कार्तिक ११ गते बुधबार

किसानबाट रु ११ करोडको धान बिक्री

किसानबाट रु ११ करोडको धान बिक्री


  • मेरोभ्यूज
  • माघ ७, २०८१ सोमबार

  • किसानबाट रु ११ करोडको धान बिक्री

    बाँके । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय, नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।

    गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

    “धान बिक्री गर्न छ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकोमा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”

    धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।

    “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उनीहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उनले जानकारी दिए ।    
    मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ ।

    गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

    गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र दस हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय, नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।

    “गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकोले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”

    पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिए ।

    घिमिरेका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय, नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।


    प्रकाशित : सोमबार, माघ ७ २०८११०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार