२०८३, कार्तिक ११ गते बुधबार

पर्यटक आगमन वृद्धि

पर्यटक आगमन वृद्धि


  • मेरोभ्यूज
  • माघ ७, २०८१ सोमबार

  • पर्यटक आगमन वृद्धि

    म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

    मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

    सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तब्यमा समेटिनु, नयाँ गन्तब्यको पहिचान, प्रचार-प्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको उनले बताए ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरु मुस्ताङ भ्रमणमा आउने क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताए ।

    सन् २०२३ मा ९० हजार तीन सय ५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुर्ई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ ।

    सन २०२४ मा मुस्ताङ भ्रमणमा आएका मध्य एक लाख नौ हजार पाँच सय ४९ जना सार्क राष्ट्रका र २६ हजार एक सय ७० जना तेस्रो मुलुकका छन् । जनवरीमा दुई हजार एक सय २६, फेब्रुअरीमा तीन हजार छ सय ९९, मार्चमा १४ हजार आठ सय २९, अप्रिलमा १७ हजार तीन सय २०, मेमा २९ हजार सात सय ७३, जुनमा १६ हजार तीन सय ४२, जुलाईमा तीन हजार चार सय ४०, अगस्टमा तीन हजार पाँच सय ८०, सेप्टेम्बरमा ११ हजार सात सय ८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा छ हजार सात सय पाँच जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

    कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ ।

    गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुककालाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु. तीन हजार शुल्क तोकिएको छ ।

    उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् ।

    मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

    जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८०/०८१ मा चार लाख २७ हजार जना पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न गएका थिए ।

    म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

    मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ ।


    प्रकाशित : सोमबार, माघ ७ २०८११०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार