मन्थली । दोलखाको तामाकोशी गाउँपालिका-५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएको छ ।
विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोशी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोर-दोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार सुरु गरेको हो ।
तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरेको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए ।
जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिइ उनी स्वदेश फर्केको हो । सोही बेलादेखि सुरु गरेको उनीहरुको ओडारको पसलबाट अहिले सहजरूपमा जीविकोपार्जन भइरहेको छ ।
ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए ।
“त्यसबेला यहाँ लगाएको वर-पीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ”, उनले भने ।
चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेका कार्कीले बताए ।
यही व्यापारबाट तामाकोशी-५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले उल्लेख गरे ।
सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्छ ।
“पाँच छोरीको विवाह गरेर आ-आफ्नो घर पठाइसके, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ”, कार्कीले भने ।
पसलबाट सुरुवाती चरणमा दैनिक रु दुई हजार पाँच सयदेखि रु दस हजारसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ र खाना खोज्नाले अहिले दैनिक रु पाँच/छ सयको मात्र बिक्री हुने उल्लेख गरे ।
गत असोज १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा आउने-जाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए ।
विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको पसलमा कुनै क्षति नपुगेको उनले बताए । “पटक-पटक वडा र पालिकाले भूकम्पको जोखिम भएकोले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार गरेको र केही संरचना पुनःनिर्माण गरिसकेको यहाँबाट अन्यत्र जान सबेको छैन”, उनले भने ।
ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटक-पटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकोले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ छ ।
“मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर आएकाले बिक्री गर्नेबेला भएको छ । वर-पीपल ठूला भएर शीत्तल बस्ने चौतारो बनिसकेको छ । केरा, आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन”, कार्कीले भने । स्थानीय सरकारले विद्युतको व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ ।
प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोर-दोहोर गर्ने मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् ।

