२०८३, कार्तिक १३ गते शुक्रबार

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको रु. १७ करोड

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको रु. १७ करोड


  • मेरोभ्यूज
  • चैत्र ६, २०८१ बुधबार

  • माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको रु. १७ करोड

    काठमाडौँ । रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–'ए' जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब रु. १७ करोड खर्च गरेको जनाएको छ ।

    आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको प्राविधिक निर्देशक गिरिराज अधिकारीले जानकारी दिए ।

    कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायत संरचना निर्माणाधीन छन् ।

    उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–'ए' प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।

    वि.सं. २०७२ को भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गरेका थिए ।

    आयोजना प्रभावित आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै योजना कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।

    उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म रु. दुई करोड बढी खर्च गरिएको जनाइएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए ।

    आयोजनाले स्थानीय बासिन्दाको माग बमोजिम प्राथमिकताका आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिइने उनले बताए ।

    आयोजनाले हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न रु. सात करोड ८६ लाख १४ हजार खर्च गरेको छ ।

    पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दाको सडक पहुँच स्थापित भइ सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौँतर्फ आवत-जावत गर्न सहज भएको छ ।

    प्रभावित क्षेत्रमा सडक निर्माणका लागि रु. १८ लाख ५७ हजार खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप रु. ७० लाख खर्च भएको जनाइएको छ ।

    प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरणलगायत काम भएका छन् ।

    साथै हाकुस्थित तीनवटा विद्यालयलाई सन् २०१८ देखि एक/एक जना शिक्षक उपलब्ध गराइएको छ ।

    आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रीतिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायत भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको प्राविधिक निर्देशक अधिकारीले जानकारी दिए ।

    आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ ।

    आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत ‘इक्विटी’बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

    कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।

    आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ ।

    कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँद याममा र ६१ दशमलव २५ प्रतिशत वर्षा याममा उत्पादन हुने जनाइएको छ ।

    उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

    काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अत्यधिक माग हुने हिउँदमा समेत एक सय चार मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।

    आयोजनाबाट वर्षभरि नै एक सय चार मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण वि.सं. २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।


    प्रकाशित : बुधबार, चैत्र ६ २०८११०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार