२०८३, कार्तिक ११ गते बुधबार

तातोपानी स्नानस्थलको क्षमता विस्तार गरिदै

तातोपानी स्नानस्थलको क्षमता विस्तार गरिदै


  • मेरोभ्यूज
  • चैत्र २४, २०८१ आइतबार

  • तातोपानी स्नानस्थलको क्षमता विस्तार गरिदै

    म्याग्दी । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नानस्थलको क्षमता विस्तार गर्न थालिएको छ ।

    तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नान स्थलको क्षमता बढाउन थालेको हो ।

    समितिका सचिव अमरबहादुर केसी (कुमार)ले तातोपानी स्नान गरेर उपचारका लागि आउनेहरुको चाप बढेपछि क्षमता विस्तार गर्न लागिएको जानकारी दिए ।

    “म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पीङ गरेर स्नानका लागि संकलन गर्न नयाँ पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शुल्कले निर्माण सामग्री खरिद, मजदूरको ज्याला ब्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाउन लागिएको हो ।”

    पन्ध्र/पन्ध्र फिट लम्बाई, चौडाई र दुई दशमलब पाँच फिट उचाई भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको सचिव केसीले बताए ।

    हालको तातोपानी स्नानस्थल भन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनूनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ । उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पुर्याउने संरचना निर्माण भएको छ ।

    स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाउन लागिएको छ । संरचना निर्माण सकेर यसै महिनादेखि नयाँ स्नानस्थल सञ्चालन गरिने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

    उनका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने गरेको छ ।

    आर्थिक वर्ष २०८०/०८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेको समितिको तथ्याङ्क छ । रु. तीन सय ५० का दरले शूल्क तिरेर सात देखि दश दिनसम्म स्नान गर्न पाइन्छ ।

    छोटो अवधीमा स्नान गर्नेहरुका लागि प्रति पटक रु. एक सय शूल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्नका लागि दुई वटा फरक–फरक पोखरी छन् । भ्रमण आउने र जाडो याममा स्नान गर्नेहरुको मंसिरदेखि फागुन, चैत महिनासम्म घुइँचो लाग्ने गर्छ ।

    ठूलो पोखरीमा एक पटकमा तीन सय जनाले स्नान गर्न सक्ने क्षमता छ । पाहुनाको चाप बढेकाले दुई/दुई घण्टाको दरले तीन वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ ।

    हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताए ।

    प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

    प्रवेश शूल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीको तलब, भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका पाँच जना निजी स्रोतका शिक्षकहरुको तबलभत्तामा खर्च गरिदै आएको छ ।


    प्रकाशित : आइतबार, चैत्र २४ २०८१११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार