२०८३, कार्तिक ११ गते बुधबार

सबैको रोजाइ बन्दै कुञ्जपार्क

सबैको रोजाइ बन्दै कुञ्जपार्क


  • मेरोभ्यूज
  • चैत्र २६, २०८१ मंगलबार

  • सबैको रोजाइ बन्दै कुञ्जपार्क

    रुपन्देही । बुटवल-११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्जपार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ ।

    उनले कुञ्जपार्क मनपर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताउछिन ।

    “पार्कमा पुग्दा मन आनन्द हुन्छ । बुटवलको कोलाहलले दिक्क बनाएका बेला त्यहाँ छुट्टै आनन्द आउँछ”, उनले भनिन, “त्यसैले धेरै पटक कहिले घुम्न, कहिले पिकनिकको बहानामा त्यहाँ धेरैपटक पुगेकी छु ।”

    यता तिलोत्तमा नगरपालिका–६ कि अञ्जना अर्याल पनि धेरै पटक कुञ्जपार्क पुगेको बताउछिन । उनले पनि समय मिल्नासाथ त्यहाँ पुग्ने गरेको बताउछिन ।

    वनभोज र घुम्न धेरै पटक कुञ्जपार्क गएको अञ्जनाले सुनाइन । केटाकेटी, युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई पनि पार्क आकर्षणको केन्द्र बनेको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको कुञ्जपार्क पछिल्लो समय धेरैको रोजाइमा परेको छ । कुञ्जपार्कमा दैनिक करिब तीन सयको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

    रुपन्देहीसँगै कपिलवस्तु, पाल्पा र भारतको नौतनहवाबाट पार्क अवलोकनका लागि पर्यटक पुग्ने गरेको पार्कका अध्यक्ष लोक पुनले जानकारी दिए ।

    पार्कमा घुम्न र यहाँको शान्त मनोरम वातावरणमा अनन्द लिन मासिक दस हजारको सङ्ख्यामा पर्यटकहरु आउने गरेको पार्कका कोषाध्यक्ष धनेन्द्र पौडेल बताउछन् ।

    उनले वनभोजको समय र अन्य समयमा गरी प्रवेश शुल्क टिकटबाट वार्षिक करिब रु. ४० लाख आम्दानी हुने गरेको उनले बताए । यसबाट पार्कमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आवश्यकताअनुसार आंशिकरुपमा धेरैले यहाँ काम गर्ने अवसर पाएका छन् ।

    वि.सं. २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सयरका लागि तीन वटा डुङ्गा सञ्चालनमा छन् ।

    जाडो होस् वा गर्मी मौसम सो डुङ्गा कहिल्यै खाली हुँदैन । डुङ्गा सयर गर्दा रु. ५० शुल्क तोकिएको छ । यसबाहेक छ वटा पिकनिक सेडहरु निर्माण गरिएका छन् ।

    पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणको कारण त्यहाँ पुग्नेहरुको भीड हुने र वनभोजको समयमा निकै भिडभाड हुने गरेको पार्कका कोषाध्यक्ष पौडेल बताउछन् । पार्क करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।

    शताब्दी अगाडि तराईवासीहरुको बासस्थान रहेको सो ठाउँमा थारु समुदायकी महिला कुञ्जलीले तलाउ खनेको कथन वि.सं. २०२० सालमा नै अग्रजबाट सुनेको पार्कका सल्लाहकार पदमबहादुर थापाले बताए । पहिले झाडी भएको ठाउँलाई विस्तारै सफा गर्दै पाँच वर्षदेखि कुञ्जपार्कका रुपमा व्यवस्थापन हुँदै आएको छ ।

    पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर यसको विस्तार गर्ने योजना रहेको पौडेलले बताए ।

    “अब सो पार्क रात्रिकालीन पार्क बनाउन रातिको समयमा पार्कमा साङ्गीतिक धुनमा पानीका फोहोरासहित लेजर लाइट जडान गरिने योजना रहेको छ”, उनले भने, “त्यसका लागि तिलोत्तमा नगरपालिकाबाट रु. एक करोड एक लाखको बजेटसमेत विनियोजन भइसकेको छ ।”

    ‘भिजिट लुम्बिनी स्टे’ तिलोत्तमाको नारालाई पनि सार्थक पार्न रात्रिकालीन पार्क सञ्चालन गर्ने र पाहुनालाई त्यही बसाल्नका लागि घरबास (होमस्टे) सञ्चालनको योजनासमेत रहेको उनले बताए ।


    प्रकाशित : मंगलबार, चैत्र २६ २०८१०८:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार