काठमाडाैं । घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासलमाथि प्रभावशाली जित दर्ता गरेको हो ।
मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो । खेलको तेस्रो मिनेटमा नै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीलाई अग्रता बनाएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६औँ मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाए । ओलावालेले छ मिनेटको इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलमा च्यासलले पनि गोल गर्ने केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बलमा पकड बनाउँदै च्यासलले मनाङमाथि दबाब बढाए पनि गोल गर्न भने असफल रह्यो ।
खेलको ६५औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिएका थिए । रेफ्रीको निर्णयमा असहमति जनाएपछि पहिलोपटक पहेँलो कार्ड पाएका प्रशिक्षक साहुखलले दोस्रोपटक रातो कार्ड पाए । च्यासलसँगको खेलमा जित हासिल गरेसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खलमा शतप्रतिशत नतिजा निकालेको छ ।
गत पुस ३ गते नेपाल पुलिस क्लबमाथि ३–१ को जित दर्ता गरेको मनाङले पुस १७ गते ब्रिगेड ब्वाइज क्लबमाथि १–० अन्तरको जित हासिल गरेको थियो । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगका तीन खेल पोखरामा खेलाइएको हो ।
खेलपछिको पत्रकार सम्मेलनमा मनाङ मर्स्याङ्दीका विदेशी प्रशिक्षक फुजा टोपेले राम्रो खेलेर जित हासिल गरेको उल्लेख गर्दै लिगको उपाधिको दावेदारी थप बलियो भएको बताए। च्यासलका सहायक प्रशिक्षक थमन भुसालले आफ्नो टोलीको खेल राम्रो भए पनि रेफ्रीको कमजोर निर्णयका कारणले फराकिलो अन्तरको हार बेर्होनुपरेको आरोप लगाए । जारी लिगमा ‘रेलिगेसन जोन’बाट माथि उक्लिन थप मेहेनतको खाँचो रहेको उनले बताए ।

