२०८३, कार्तिक ११ गते बुधबार

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण


  • मेरोभ्यूज
  • भाद्र १४, २०८२ शनिबार

  • माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

     

    रामेछाप । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।

    यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तरपुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

    आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरुको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् ।

    सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न दस स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर-किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा हालै सम्पन्न भएको छ ।

    मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोल-टोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए ।

    मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न दस स्थानमा माझी समुदायका बालबालिका र किशोर-किशोरीलाई प्रशिक्षण दिइएको उनले जानकारी दिए ।

    पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए ।

    माछा मार्नु, विभिन्न घाट तथा नदिमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेसा हो । पछिल्लो समय नदि तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ ।

    भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेका थिए ।

    यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउँछन् ।


    प्रकाशित : शनिबार, भाद्र १४ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार