पाल्पा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार पाच सय ६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदिधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।
“यस मार्गमा ढुङ्गा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदि किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पुर्याउनेछ”, नगर प्रमुख थापाले भने ।
यस मार्गमा आ.व. ०८१/०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । वडा नं. ३ स्थित केलादीमा पाच सय ५७ मिटर, वडा नं. ६ को ज्याग्दीपार्कमा एक सय ९१ मिटर, तिलकपुरमा चार सय ३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा एक सय ९५ मिटर इन्टरलक, वडा नं. ८ स्थित भुजात क्षेत्रमा छ सय ७८ मिटर ढुङ्गा छाप्ने र दुई सय दस मिटर इन्टरलक, वडा नं. १० को शालिकराम पार्कमा एक सय १४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा एक सय ९० मिटर इन्टरलक राख्ने र ढुङ्गा छाप्ने काम भएको छ ।
यसैगरी वडा भानघाट र तातोपानीघाटमा प्रतिक्षालय निर्माण गरेको छ । यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो ।
धार्मिक महत्वको कालीगण्डकी नदि रामनदिधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

