बाँके । साउन महिना शुरु भएसँगै बाँकेको नरैनापुरस्थित चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहल-पहल शुरु भएको छ । साउन शुरु भएसँगै मन्दिरमा सामूहिकरूपमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको हो ।
पछिल्लो केही वर्षयता सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले बताए ।
उनका अनुसार साउनमा सोमबार र शनिबार बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।
“सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र इतिहास छ, भगवान् शिवले मानवसहित सजीव प्राणीका मनोकाङ्क्षा भन्ने जनविश्वास रहिआएकोले यहाँ दर्शन गरेर मनकाङ्क्षा पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने धार्मिक विश्वास गरिन्छ”, पुजारी गिरीले भने ।
सोही विश्वासअनुसार साउनको महिनामा सोमबारे व्रत बसेका महिला तथा युवायुवती कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको उनको भनाइ छ ।
धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यस मन्दिरसम्म पुग्ने व्यवस्थित सडक नबन्दा पर्यटकको आगमन तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
“खासगरी श्रावण मास शिवशङ्कर भगवानको महिना भएकोले यो महिनामा शिव भक्तहरूले शिवकाँवरिया, पैदलयात्रा तथा जलपूजनजस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गर्दछन्”, पुजारी गिरीले भने, “यस्ता कार्यक्रमले स्थानीय परम्परागत नाच नाच्ने, भजन गाउनेलगायत गतिविधिमार्फत मौलिक संस्कति संरक्षण, प्रवर्द्धन र सामाजिक सदभावमा टेवा पुर्याइरहेको छ ।”
सन्तानेश्वर महादेव मन्दिरमा पुग्ने भक्तजन बर्सेनी थपिँदै गए पनि यहाँको भौतिक पूर्वाधारको काम भने हुन सकेको छैन ।
मन्दिरसम्म पुग्ने सडक, खानेपानी र ओत लाग्ने आश्रमस्थल नहुँदा भक्तजनले कष्ट व्यहोर्नु परेको मुख्य पुजारी गिरीले बताए । स्थानीय निकायले पूर्वाधार निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालगञ्जबाट ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ कि.मि. जङ्गलको कच्ची बाटोमा मोटरसाइकलबाट यात्रा गरेपछि करिब दुई कि.मि. पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ ।
शहरभन्दा टाढा जङ्गलको बीच पहाडको टाकुरामा मन्दिर रहेकोले प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन गर्दै पैदलयात्राका लागि नेपालगञ्जबाट समूह बनाएर सन्तानेश्वर पुगेका नेपालगञ्ज–६ फुल्टेक्रा अर्जुनसिंह ठकुरीले जानकारी दिए ।
आफूहरू प्रत्येक वर्षको साउनमा यहाँ पुग्ने गरेको भन्दै सडक स्तरोन्नती नहुँदा समस्या भएको उल्लेख गरे ।
सन्तानेश्वर मन्दिरमा पहिलो पटक पुगेकी कोहलपुर नगरपालिका–२१ की सिर्जना थापाले मन्दिर पुग्ने बाटो असहज भएपनि साथीहरूसँग समूहमा आउँदा रमाइलो भएको बताए ।
उनले सन्तानेश्वर महादेवको पूजाअर्चनासँगै पहाडको उकालो बाटो, हरियाली वनजङ्गलको प्राकृतिक दृश्यले मनोरम तुल्याएको उल्लेख गरे ।
बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्ने बताए ।
राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्ग र सन्तानेश्वरमा खानेपानीको काम चालु आर्थिक वर्षमा शुरु गरिने उनले जानकारी दिए ।

