२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकका पर्खाइमा म्याग्दीको पुलाश्रम

पर्यटकका पर्खाइमा म्याग्दीको पुलाश्रम


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • पर्यटकका पर्खाइमा म्याग्दीको पुलाश्रम

     

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।

    पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडकमार्फत हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ आवत-जावत गर्छन् ।

    बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधै सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिए ।

    “श्रीमद् भागवत् महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा जयन्ती, मङ्गला र कालीको सङ्गमस्थलमा पुलत्स्य एवं पुलह ऋषिले तपस्या गरेको र पुलस्त्य ऋषिका नाती हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको उल्लेख छ,” उनले भने “पुलत्स्य, पुलह ऋषिले तपस्या गरेकै कारण यो ठाउँलाई पुलाश्रम भनिएको विभिन्न अध्ययन तथा तथ्यहरुले पुष्टी गरेको छ ।”

    रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलस्त्य र पुलह ऋषिले होम गरेको तथा रावणको नाभी गाडेको ठाउँ पुलाश्रमको धार्मिक महत्व तथा इतिहासको साक्षी हुन् । पुलाश्रममा रहेको मन्दिर परिसरको हवन कुण्डमा ऋषिहरुले हवन गरेर शेर रहेको चरु पाइन्छ ।

    धार्मिक महत्वको प्रचार-प्रसार र प्राकृतिक सौन्दर्यको बिशेषता प्रचार-प्रसारको कमी तथा सहज सडक यातायातको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको उपाध्यक्ष बानियाले जानकारी दिए ।

    “धेरैलाई पुलाश्रमको महत्व र विशेषता जानकारी छैन,” उनले भने “पुलाश्रमको बारेमा जानकारी भएका तिर्थयात्रीहरु आएपनि गाडीमा आउन नसकेर पुलाचौर र तिनमानेबाट फर्किन बाध्य छन् ।”

    समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्ती अवलोकन गर्न सकिन्छ ।

    नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदि देखिन्छ । नजिकै बस्ती नभएकोले पुलाश्रमको एकान्त र शान्त वातावरणमा रमाउन पाइन्छ ।

    बेनीदेखि पैदलयात्रा गरेर दुई घण्टा र सवारी साधनमा तीन मिनेटको यात्रा गरेर पुलाश्रम पुगिन्छ ।

    पुलाश्रममा तिर्थयात्री र भक्तजन आउन नसक्नुको प्रमुख कारण व्यवस्थित पदमार्ग र स्तरीय सडक सुविधाको अभाव भएको स्थानीय शान्ति शर्माले बताए ।

    पौलत्स्य क्षेत्र विकास कोषले महायज्ञबाट संकलन गरेको रकमबाट दश वर्षअघि मन्दिर निर्माण गरेका थिइ ।

    बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पुर्याएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाले बताए ।

    “ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा दसवटा टाउको, जनै राख्ने र सरसफाइ गर्ने बाहेकको काम सकिएको छ,” उनले भने “चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ ।”

    रु. एक करोड ७६ लाखमा ठेक्कामार्फत ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीदेखि पुरुण्डीसम्मको छ किलोमिटर सडक पक्की बनेको जानकारी दिंदै चनौटेदेखि पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरेको बताए ।

    विभिन्न धार्मिकगन्थको अध्ययन र तथ्य पहिचान गरेर दक्षिण भारत र श्रीलंकाका धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पछैमा रावण पार्क बनाएको उनले बताए ।

    गण्डकी प्रदेश सरकारमार्फत बेनी नगरपालिका–९ मा रहेको गलेश्वरदेखि पुलाश्रम र अर्को धार्मिक स्थल जगन्नाथ जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नती शुरु भएको छ ।

    बेनी, पुलाश्रम, घतानकोत, ढोलथान, जगन्नाथ र गलेश्वरलाई धार्मिक कोरिडोरको रुपमा विकास गर्ने अवधारणा अनुसार पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा प्राथमिकता दिएको नगर प्रमुख केसीले बताए ।

    धार्मिक कोरिडोरको विकास गरेर मुक्तिनाथ जाने आउने भक्तजन तथा तीर्थयात्रीलाई बेनीमा भुलाउने, बसाइ लम्बाइ पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार