२०८३, कार्तिक ११ गते बुधबार

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’


  • मेरोभ्यूज
  • भाद्र २८, २०८२ शनिबार

  • संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’


    भोजपुर । भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् ।

    नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

    नेवार समुदायमा लाखेजात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उनले बताए ।

    यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा लिइने स्थानीयको भनाइ छ ।

    स्थानीय कला, संस्कार, संस्कृति तथा रहन-सहनको संरक्षणमा जुटेको स्थानीयवासी कमल प्रधानले बताए ।

    “हाम्रो पराम्परागत संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छौँ”, उनले भने, “कतिपय प्रचलन लोप हुने अवस्थामा पुगेकोले हामी युवाहरू संस्कृतिको संरक्षणमा जुटेका हौँ ।” नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी शुरू भएको लाखे नाच हरेक दिन प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवतरूपमा अन्त्य हुने उनको भनाइ छ ।

    आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकोले नयाँ पुस्तासम्म पुर्याउन संरक्षणमा जोड दिएको नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताए । यस्ता मौलिक परम्पराको संरक्षण गर्न जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सरदमुकाम, टक्सार, दावाँ बजार, दिङला बजारलगायत स्थानमा नागपञ्चमीदेखि लाखे नाचको सुरूवात गरिएको छ ।

    नेवार समुदायको लाखे नाचका क्रममा स्थानीय वेशभूषा, रहन-सहनको प्रदर्शनीसँगै गाईजात्रा, घोडेजात्रा, वैरागी जात्रा, रोपाइँ जात्रालगायतका माध्यमबाट समाजका विकृति, विसङ्गतिप्रति व्याङ्ग्य गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने चलन रहेको छ ।


    प्रकाशित : शनिबार, भाद्र २८ २०८२११:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार