२०८३, कार्तिक ११ गते बुधबार

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नती

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नती


  • मेरोभ्यूज
  • आश्विन ५, २०८२ आइतबार

  • पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नती

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नती थालिएको छ ।

    रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नती थालिएको हो ।

    गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए ।

    गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नती गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले जानकारी दिए ।

    आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए ।

    रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

    चालिस मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।

    अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले मौवाफाँट–दग्नामखण्डमा रु. एक करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।

    “तुँदी पावरले थप रु. २५/२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,” गाउँपालिकाका अध्यक्ष भण्डारीले भने “तुँदी पावर, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)को रु. ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुँदैछ् ।”

    चिमखोला–मङ्गले–राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले रु. ८० लाख खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दूरीमा तटबन्ध गरेका छन् ।

    बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु. दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थलखण्डको सडक स्तरोन्नती थालेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यसअन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा माध्यमिक विद्यालय मुनिसम्मको सडक पनि स्तरोन्नती हुने अध्यक्ष भण्डारीले बताए ।

    ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चारवटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।


    प्रकाशित : आइतबार, आश्विन ५ २०८२१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार