२०८३, कार्तिक ११ गते बुधबार

महभिर झरना

महभिर झरना


  • मेरोभ्यूज
  • आश्विन २५, २०८२ शनिबार

  • महभिर झरना

     

    भोजपुर । महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो ।

    मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट नजिकै रहेको यो स्थान घुम्न आउनेहरूका लागि मनोरञ्जनस्थल बनेको छ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आवगमन बढेको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताए । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ ।

    दैनिक दर्जनौँ मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेका छन् । यो आर्थिक वर्षमा पनि आवश्यक संरक्षण तथा विकासका लागि रु. आठ लाख बजेट विनियोजन भएको वडाध्यक्ष राईले बताए ।

    “महभिर झरना हाम्रो वडाको महत्त्वपूर्ण पर्यटकीयस्थल बनेको छ”, वडाध्यक्ष राईले भने, “यहाँको संरक्षण तथा विकास गरिएसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । अझै पनि यसको विकासको लागि काम भइरहेको छ ।”

    विषेशगरी गर्मीयाममा धेरै पर्यटकको जमघट गरेको छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ । यो झरना ६० मिटर अग्लो छ । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ ।

    गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । सदरमुकामबाट नजिकको गन्तव्य रहेकोले यहाँ मानिसहरूको जमघट हुने उनको भनाइ छ ।

    महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विगतबाट नै विकासको काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन ।

    टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकोले यसलाई पर्यटनसँग जोडेर भावी योजनालाई अगाडि बढाइएको उपाध्यक्ष राईले जानकारी दिइन ।

    महभिर झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

    यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने योजना रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

    कृषि र पर्यटनलाई गाउँपालिकाको दिगो आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएर सोहीअनुसार गाउँपालिकाले लगानीमा जोड दिएको उनको भनाइ छ ।

    भोजपुर–चखेवा मध्यपहाडी लोकमार्गबाट नजिकै रहेको यो झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर दूरीमा अवस्थित छ ।


    प्रकाशित : शनिबार, आश्विन २५ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार