२०८३, कार्तिक ११ गते बुधबार

सहयोग जुटाएर मन्दिर पुन:निर्माण

सहयोग जुटाएर मन्दिर पुन:निर्माण


  • मेरोभ्यूज
  • कार्तिक ९, २०८२ आइतबार

  • सहयोग जुटाएर मन्दिर पुन:निर्माण

     

    म्याग्दी । रु. एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुन:निर्माण भएको छ ।

    जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुन:निर्माण गरेको हो ।

    वि.सं. १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा वि.सं.. १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शाषन गरेका थिए ।

    सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिर वि.सं. १९९० र २०७२ को भूकम्पले जीर्ण बनेपछि समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर वि.सं. २०७५ देखि पुन:निर्माण थालिएको थियो ।

    मन्दिर पुन:निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले पुन:निर्माणमा रु. एक करोड १९ लाख ३१ हजार आठ सय ३३ खर्च भएको जानकारी दिए । रु. एक करोड १४ लाख पाँच हजार एक सय ३८ चन्दा सङ्कलन भएको र रु. पाँच लाख २६ हजार छ सय ९५ अपुग भएको थापाले जानकारी दिए ।

    “पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानोस्वरूप र ऐतिहाँसिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुन:निर्माण भएको छ”, उनले भने, “मन्दिरभित्र जगन्नाथ र अन्नपूर्ण देवताका मूर्ति राखेका छौँ ।”

    रु. पाँच हजारभन्दा बढी सहयोग गर्नेहरूको नामावलीसहितको शिलालेखको स्तम्भ अनावरण गरेर पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले मन्दिरको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा सहयोगदातालाई कदरपत्रले सम्मान गरिएको थियो । मन्दिरको छेउमा तत्कालीन थापा तथा मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुन:निर्माण भएको छ ।

    पुरातत्व विभागको रु. ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर निर्माण भएको छ ।

    धवलागिरी गाउँपालिकाको रु. तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहेका रघुनाथ सुवेदीको अगुवाइमा दाताको रु. २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकार र शहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

    म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताए ।

    जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

    तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

    समुद्री सतहबाट दुई हजार पाच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे शृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

    धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मन्दिर पुन:निर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीयस्थलको रुपमा विकास भएको बताए ।

    ताकमकोतको विकास र प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।


    प्रकाशित : आइतबार, कार्तिक ९ २०८२१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार