२०८३, कार्तिक ११ गते बुधबार

संस्कृतिसँगै परम्परागत हस्तकलाको सिप सिकाउँदै ‘टेम्केमैयुङ’

संस्कृतिसँगै परम्परागत हस्तकलाको सिप सिकाउँदै ‘टेम्केमैयुङ’


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८२ सोमबार

  • संस्कृतिसँगै परम्परागत हस्तकलाको सिप सिकाउँदै ‘टेम्केमैयुङ’

     

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सिप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो ।

    गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाइ तालिमका साथै सात/सात दिने लुकुनी, हलो जुवा, विनायो बाँसुरी, डोको-डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायत दैनिक जीवन र सांस्कृतिक महत्त्वका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ ।

    यस्तै किराँत संस्कृतिमा प्रयोग हुने धनुकाड र जाली रुमाल बन्ने तालिम पनि प्रदान गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसहित त्यसलाई बजारसम्म पुर्याउने र नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको हो ।

    “हामीले जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर यी सिपलाई जीवन्त बनाउन चाहेका हौँ”, उनले भने, “यसबाट युवाले आत्मनिर्भरता हासिल गर्न सक्छन् र संस्कृतिको पहिचान पनि जोगिन्छ । कला, संस्कृतिलाई संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउनमा हामीले जोड दिएका छौँ ।”

    गाउँपालिकाले शुरु गरेको यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभएर दिर्घकालीनरूपमा स्थानीय सिप, संस्कृति र आत्मनिर्भर बनाउँदै अर्थतन्त्रसँग जोड्ने उद्देश्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

    नयाँ पुस्तामा हस्तकला, परम्पराप्रति चासो र आकर्षण बढाउने, कला, संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि यसले टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।

    गाउँपालिकाले जनताको जीवनस्तर सुधार्दै सिप, कला संरक्षण र प्रवर्द्धनका लागि प्रयास थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन ।

    गाउँघरमा कतिपय परम्परागतरूपमा गरिने सिप हराउँदै गएकोले प्रशिक्षण कार्यक्रममार्फत पुन:जीवित गर्ने प्रयास गरिएको उनले उल्लेख गरे ।

    पितापूर्खाले बनाउँदै आएका हस्तकलाको सामग्री संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने उपाध्यक्ष राईले जानकारी दिए ।

    “आजका बालबालिका र युवाले परम्परागत हस्तकलाबारे कमै मात्र जानकारी पाएका छन्”, उनले भने, “उनीहरूलाई व्यवाहारिक सिप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजेका छौँ । यसले परम्परागत सिप र संस्कृतिको सरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”

    अभियानलाई अझ मजबुत बनाउन गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौँसँगको समन्वयमा सिप प्रदान गरेको छ । यहाँका ६५ जना महिला र पुरुष सहभागीलाई विभिन्न खालका परम्परागत हस्तकलाको सिप प्रदान गरिएको हो ।

    सहभागीले सिकेक सिपलाई गाउँमै प्रयोग गरेर उत्पादन बढाउने र बजारमा लैजाने बताइएको छ ।

    परम्परागत हस्तकलाले यहाँका बासिन्दाको जीवनशैली र पहिचान र संस्कृतिसँग पनि गहिरोसम्बन्ध राख्ने देखिएको छ । उचित प्रविधि, डिजाइन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्नमा सहयोग पुर्याउने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।


    प्रकाशित : सोमबार, कार्तिक १० २०८२१२:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार