२०८३, कार्तिक ११ गते बुधबार

काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

काँक्रोखेतीतर्फ आकर्षण बढ्दै


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८२ शुक्रबार

  • काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

     

    तनहुँ । यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

    पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

    यस पटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु. छ लाख ३५ हजार आम्दानी गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए ।

    उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु. ४० हजार पाच सय आम्दानी गरेको बताए । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएको छ ।

    “बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ”, उनले भने, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहजरूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।”

    सोही ठाउँका जितबहादुर गुरुङले रु. ३० हजार पाच सय, तुलबहादुर गुरुङले रु. १२ हजार पाच सय, सङ्गिता गुरुङले रु. ४५ हजार पाच सय, लालश्री गुरुङले रु. ४५ हजार पाच सय, तेजबहादुर गुरुङले रु. वीस हजार पाच सय, डिलुमाया गुरुङले रु. १२ हजार पाच सय, रत्नमाया गुरुङले रु. १४ हजार पाच सय, सीता गुरुङले रु. नौ हजार पाच सय, रजमाया गुरुङले रु. दश हजार पाच सय, फूलमाया गुरुङले रु. ३५ हजार पाच सय, धनमाया गुरुङले रु. १५ हजार पाच सय, खड्क गुरुङले रु. ५० हजारको मादले काँक्रो बिक्री गरेको छ ।

    छिम्केश्वरी कृषक समूहमा आबद्धलगायत कृषकले मात्रै रु. चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए ।

    आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए ।

    “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो”, गुरुङले भने ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार पाच सय के.जि. मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए ।

    उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु. चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु. एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु. ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु. १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु. तीन हजार, एकता कृषक समूहका कृषकले रु. २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन् ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रो खेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग किराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरुप उत्पादन हुन सकिरहेको थिएन ।

    गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ ।

    उनले भने, “यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल भयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थिया । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित भएको छ ।”

    आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् ।


    प्रकाशित : शुक्रबार, कार्तिक १४ २०८२०८:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार